वीरगञ्ज (पर्सा)- वीरगञ्ज महानगरपालिकाका सबै वडामा स्वास्थ्य प्रयोगशाला निर्माण थालिएको छ।
सामान्य स्वास्थ्य परीक्षणका लागि पनि मुख्यबजार धाइरहनुपर्ने बाध्यताको अन्त्य तथा नागरिकलाई गाउँघरमै सेवा प्रदान गर्न महानगरपालिकाले स्वास्थ्य प्रयोगशाला निर्माण थालेको हो।
चालू आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सुरु भएका प्रयोगशाला भवनको पूर्वमन्त्री एवं पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सोमबार संयुक्त रुपमा शिलान्यास गरे।
त्यस अवसरमा सांसद यादवले महानगरका ग्रामीण क्षेत्रका नागरिकले अब घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण बनेकामा खुसी व्यक्त गरे।
महानगर प्रमुख सिंहले निर्धारित समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए। महानगरका ग्रामीण क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न आफू लागि रहेको भन्दै उनले त्यसमा सबैको सहयोग आवश्यक भएको बताए। रासस