काठमाडौं- सरकारले २८ हजार कैदीबन्दीको उपचार स्वास्थ्य बिमा मार्फत् गर्ने भएको छ। थुनुवा पूर्जीको आधारमा देशभरका करिब २८ सय कर्मचारीको स्वास्थ्य बिमा गरिएको केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश बुढाथोकीले बताए।
उनका अनुसार नागरिकताको आधारमा बीमा गर्दा २० प्रतिशत पनि कैदीबन्दी नसमेटिने देखिएपछि कसैलाई पनि नछुटाउन थुनुवा पुर्जीको आधारमै गर्न प्रस्ताव अगाडि बढाइएको हो।
'स्वास्थ्य बीमा कार्यक्रम लागू भएपश्चात् बिरामीको नियमित स्वास्थ्य जाँच सहज हुने र जटिल उपचारका लागि पनि काठमाडौं नै आउनुपर्ने बाध्यता हट्छ। बिमा लागु गएपछि जिल्लामै विशेषज्ञ सेवा लिन सहज हुन्छ। अहिले राज्यलाई उपचार खर्चले पनि व्ययभार बढाइरहेका बेला दायित्व कम हुन्छ,’ डा बुढाथोकी बताउँछन्।
कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहालका अनुसार विं सं २०७७ सालदेखीको अथक प्रयास पश्चात् स्वास्थ्य बीमा कार्यक्रममा कैदीबन्दीको उपचारलाई समेट्न सकिएको हो।
उनले भने- 'प्रत्येक वर्ष १० प्रतिशतका दरका कैदीबन्दीको संख्या बढ्दै जाँदा स्वास्थ्य बीमा कार्यक्रमलाई कसरी दिगो बनाउनमा चुनौती थपिएको छ'। हाल नेपालको २० वटा भन्दा बढी कारागारमा ५ सय भन्दा बढीको संख्यामा कैदीबन्दी रहेका छन्। कैदीबन्दीको उपचारमा स्वास्थ्य बिमा कार्यक्रम लागु भएपनि यसलाई निरन्तरता दिने कार्य कठिन रहेको उनको भनाई थियो।