काठमाडौं- स्वास्थ्य व्यवसायी परिषदले कलेजहरुको अनुमगन गर्ने भएको छ। परिषदले न्यूनतम मापदण्ड अनुसारको स्वास्थ्य सम्बन्धी विषयका शिक्षण संस्थाहरुको पूर्वाधार तथा शिक्षण सिकाइ सम्बन्धी विषयमा अनुगमन गर्न लागेको हो।
परिषदको माघ २५ गते बसेको बैठकले नीति योजना तथा अनुगमन समितिको कार्यविधि २०७९ बमोजिम शिक्षण संस्थाहरुको पूर्वाधार र शिक्षण सिकाइ सम्बन्धी सम्पूर्ण पक्षहरुका विषयमा अनुगमन गर्न लागिएको परिषदका अध्यक्ष सुवोध शर्माले जानकारी दिए।
उनका अनुसार परिषदको नाम दर्ता (लाइसेन्स) परीक्षामा धेरै विद्यार्थीहरु असफल भएपछि कार्यविधि अनुसार कलेजहरुको अनुगमनलाई तीव्रता दिने निर्णय भएको हो। 'शिक्षाको गुणस्तरमा कुनै सम्झौता हुँदैन,' उनले भने, 'पछिल्लो समयको नितजा हेर्दा केही सुधार गर्नुपर्ने विषयहरु देखिएको छ। त्यसकारण हामीले न्यूनतम मापदण्ड अनुसार विभिन्न पक्षहरुको अनुगमन गर्दै छौं।'
उनका अनुसार परिषदबाट अनुगम भएपछि अनुगमन समितिको प्रतिवेदन सहितको सिफारिस चिकित्सा शिक्षा आयोगमा पेश हुने छ। परिषद्ले अनुगमन कार्यमा सहयोग गर्न सम्बन्धित सरोकारवालासँग आग्रह पनि गरेको छ।
परिषदले सूचना जारी गर्दै अनुगमन शुल्क बुझाउन बाँकी शिक्षण संस्थालाई समयमै शुल्क बुझाउन पनि भनेको छ।
'परिषदले तोकेको अनुगमन शुल्क बुझाउन बाँकी शिक्षण संस्थाहरुलाई उक्त शुल्क समयमै बुझाउन समेत सूचित गरिन्छ । माथि उल्लेखित विवरण संलग्न नगरेका शिक्षण संस्थाका विद्यार्थीहरुलाई परिषदबाट संचालन हुने नामदर्ता प्रमाणपत्र परीक्षामा सामेल गराउन परिषद बाध्य नहुने व्यहोरा समेत सूचित गरिन्छ,' परिषदद्वारा जारी सूचनामा भनिएको छ।
हेरौं सूचना