काठमाडौं- नेपाल एपीएफ अस्पताल बलम्वुमा अंकोलोजी युनिटको स्थापना भएको छ। अस्पतालको २२औँ वार्षिकोत्सवको अवसर पारेर सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सशस्त्र प्रहरी परिवार महिला संघकी पूर्व केन्द्रिय अध्यक्ष कल्पना थापाले पूर्व सशस्त्र प्रहरी महानिरीक्षक स्व. सहवीर थापाको स्मृतीमा स्थापना गरिएको ‘सहवीर थापा अंकोलोजी युनिट’को संयुक्त रुपमा उद्घाटन गरिएको छ।
अंकोलोजी युनिट संचालनको लागि स्थापना गरिएको अक्षयकोषमा महानिरीक्षक अर्याल तथा उनको परिवारको तर्फबाट ५ लाख रुपैयाँ प्रदान गर्नुकोसाथै बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुले समेत सहयोग रकम प्रदान गरेका छन्।
महानिरीक्षक अर्यालले नेपाल एपीएफ अस्पताल बलम्वुमा निर्माण भएको नयाँ इमरजेन्सी भवनको समेत उद्घाटन गरेका छन्।
त्यस्तै उनले अस्पतालमा कार्यरत रहि उच्च पेशागत दक्षता प्रदर्शन गर्ने नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा रुपक महर्जन लगायत अन्य कर्मचारीलाई कदरपत्र प्रदान गरेका छन्।
सोही अवसरमा महानिरीक्षक अर्यालले नेपाल एपीएफ अस्पतालको विविध गतिविधिहरु समेटि तयार पारिएको ‘अस्पताल प्रतिबिम्ब २०८०’को विमोचन समेत गरिएको छ। महानिरीक्षक अर्यालले नेपाल एपीएफ अस्पताललाई आजको अवस्थासम्म ल्याई पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुप्रति हार्दिक आभार प्रकट गर्दै अस्पतालमा कार्यरत कर्मचारीहरुलाई प्रविधि र सीपको नविनतम विकासहरुलाई आत्मसाथ गरी आगामी दिनहरुमा समेत स्वास्थ्य सेवा प्रवाहमा कटिबद्ध भई निरन्तर लागि रहन निर्देशन दिए।
म होईन हामी भन्ने मान्यता लिई मालिक होईन सेवक हुँ भन्ने पवित्र भावनकासाथ कर्तव्य पथमा लागि रहन निर्देशन दिँदै महानिरीक्षक अर्यालले भने–‘शरीरमा लागेको रोगको औषधि उपचारबाट संभव होला तर सामुहिक एकतामा व्यक्तिगत स्वार्थ र विचलनको संक्रमण भयो भने त्यो रोगको न कुनै उपचार हुन्छ न त निदान गर्ने सक्ने औषधि नै हुन्छ।’
कार्यक्रममा स्वास्थ्य शैक्षिक प्रतिष्ठान तथा संस्थाका प्रमुखहरु, सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका कार्यकारी निर्देशक, विभिन्न मन्त्रालय तथा सरकारी अस्पतालका पदाधिकारीहरु लगायत सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।