काठमाडौं- परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले कुपण्डोलस्थित नयाँ भवनको उद्घाटन भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नयाँ भवनको उद्घाटन गरेका हुन्।
करिब ४ वर्ष भन्दा लामो समयमा ४३ करोड ७९ लाख ६७ हजार रुपैयाँको लागतमा निर्माण भएको उक्त पाँच तले भवनबाट सेवा आरम्भ गरेसँगै स्थान अभावको समस्या अन्त्य भएको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले बताए।
नयाँ भवनबाट ओपिडी सेवा, सुरक्षित गर्भपतन सेवा पाठेघरको क्यान्सरको जाँच, पिसाव चुहिने समस्या, टेष्टट्युव बेबी लगायतका सेवा प्रदान गरिने डा अधिकारी बताउँछन्।
निर्देशक डा अधिकारीका अनुसार भवनको तल्लो तलामा रिसेप्सन, ओपिडी, फार्मेसी र प्रयोगशाला रहनेछन्। पहिलो तलामा सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सेवा, माइनर शल्यक्रिया कक्ष, रिकभरी कक्ष र जनरल वार्ड रहनेछन्।
भवनको ग्राउण्ड फ्लोरमा ओपिडी सेवा, ल्याव, फार्मेसी र रिसेप्सन रहने छ भने पहिलो तलामा सुरक्षित गर्भपतन सेवा, परिवार योजना सेवा, माइनर ओटी, जनरल ओटी रहने छ।
त्यसैगरी, दोस्रो तलामा ४ वटा तालिम कक्ष र अध्ययन अध्यापन कक्ष रहनेछ। चौथो र पाँचौ तलमा रहेका ४२ बटा कोठमा १ सय २० जना विद्यार्थी बस्ने गरीको छात्रावास तयार गरिएको छ।