काठमाडौं– डा केशवप्रसाद सापकोटा र डा विमला श्रेष्ठद्वारा लिखित ‘आरोग्यताका लागि मुद्रा प्रणायम’ पुस्तक विमोचन गरिएको छ। सामाजिक सचेतना मञ्च र प्राकृतिक चिकित्सा केन्द्रले आज लैनचौरमा आयोजना गरेको कार्यक्रममा योग, प्राणायम र मुद्रा ध्यानलाई समावेश गरी तयार गरिएको उक्त पुस्तक हिन्दू विद्यापीठ नेपालका संस्थापक प्रा डा चिन्तामणि योगीले विमोचन गरे।
कार्यक्रममा डा योगीले वैदिक सनातन संस्कृतिको उद्गमस्थल नेपालको संस्कृति, धर्म, परम्परा, स्वाभिमानलाई बचाउन सकिए मात्र देश बच्ने बताए। “सनातन धर्म र परम्परालाई बचाउनका लागि आआफ्नो क्षेत्रबाट लाग्नुपर्छ”, उनले भने। प्राडा योगीले रामायण, वेदजस्ता धर्मग्रन्थ नेपालमा लेखिएको उल्लेख गर्दै नेपाल आफैंमा पुस्तक भएको बताए।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले तनाव व्यवस्थापनका लागि ‘आरोग्यताका लागि मुद्रा प्रणायम’ पुस्तकले सहयोग पुग्ने विश्वास व्यक्त गरे। “समाज भड्किरहेको छ, मानिसमा निराशा छाइरहेको छ, तनाव व्यवस्थापन नहुँदा बर्सेनि थुप्रै व्यक्तिले आत्महत्याको बाटो रोज्नुपरेको छ, निराशालाई व्यवस्थापन गर्नका लागि यस्ता योग, ध्यान र साधनका पुस्तकले सहयोग पुग्नेछ”, उनले भने।
पुस्तकका लेखक डा केशवप्रसाद सापकोटाले पुस्तकमा उच्च रक्तचाप, मधुमेह रोगलगायत अन्य रोगको नियन्त्रण तथा सञ्चो गर्न कसरी सकिन्छ भन्ने कुरालाई समावेश गरिएको जानकारी दिए। उनले योग, ध्यान र साधनाले मानिसमा नयाँ ऊर्जा पैदा हुने र मानिसमा लाग्ने रोग नियन्त्रण हुने भन्दै पाठकका लागि पुस्तक सहयोगी बन्ने विश्वास व्यक्त गरे।