काठमाडौं– एमाले सांसद महेश बर्तौलाले प्रधानमन्त्रीले भ्रष्टाचारमा मुछिएकालाई क्याबिनेट राखेर सुशासनको प्रतिबद्धता जनाउनु हास्यास्पद भएकोे बताएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा स्वास्थ्य मन्त्री महेशबहादुर बस्नेत लगाएतका मन्त्रीहरुलाई लक्षित गर्दै उनले प्रधानमन्त्री पुष्प कमल दाहालले भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई मन्त्रिपरिषदमा राखेर रोस्टरमा सुशासनको भाषण दिएको सुन्न नसकिने बताएका हुन्।
उनले भने, ‘हाम्रो छेउमै अख्तियारको निगरानीमा रहेको, अख्तियारले बयानमा बोलाएको अनियमितताको आशंका भएको, भ्रष्टाचारको आशंका गरिएको व्यक्तिलाई देशको मन्त्रीको रुपमा राखेर अनि प्रधानमन्त्रीज्युको यहाँ अगाडि रोस्टरबाट सुशासनको सुगारटाइ सुन्न हामी तयार छैनौं।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सोधिएका प्रश्नको जवाफ दिने कार्य तय थियो तर प्रश्नउत्तर सुरु हुनु अघि नै महेश बर्तौला आफ्नो कुरा राखेका थिए।
बर्तौलाले संसदमा राखेको भनाइ जस्ताको जस्तै
'सिंगो देशको शिर निहुरिएको छ। सम्माननिय प्रधानमन्त्रीज्युले आज रोस्टममा अहिले प्रश्न उत्तरको कार्यक्रममा जोडिदै गर्दा पनि सायद यो कुरा बोल्नुहुनेछ। सुशासन प्रति मेरो सरकार प्रतिबद्ध छ। यसका लागि काम गरिरहेका छौ भन्नुहुन्छ होला। तर उहाँलाई थाहा छ कि छैन? भ्रष्टाचारको आरोप लागेर भ्रष्टाचारको आशंकामा आर्थिक अनियमितताको आशंकामा केही समय अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको बयान ,छानबिन, अनुसन्धानको प्रक्रियामा जोडिनु भएर उहाँले बयान दिएर आएको कुरा हामीले सार्वजनिक मिडिया मार्फत थाहा पायौं। हाम्रो छेउमै अख्तियारको निगरानीमा रहेको, अख्तियारले बयानमा बोलाएको अनियमितताको आशंका भएको भ्रष्टाचारको आशंका गरिएको व्यक्तिलाई देशको मन्त्रीको रुपमा राखेर अनि प्रधानमन्त्रीज्युको यहाँ अगाडि रोस्टरबाट सुशासनको त्यस्तो सुगारटाइ भाषण सुन्न हामी तयार छैनौं। सम्माननिय सभामुख महोदय, त्यो भाषण सक्कली हुन सक्दैन। नक्कली हुनसक्छ। त्यसकारण सम्माननिय सभामुख महोदय मार्फत यस्ता भ्रष्टाचार, आर्थिक अपचलन, अनियमिततामा जोडिएका मन्त्रीहरु, सरकारले बनाएको आयोगले दोषी भनेका व्यक्तिलाई मन्त्रीको जिम्मेवारीमा बाहाल राखेर के हामी विधिको सासन, सुशासनको कुरा अगााडि बढाउन सक्छौं। गम्भिरताका साथ यो विषय ध्यानाकर्षण गराउन चाहन्छु।'