काठमाडौं- तिलगंगा आँखा प्रतिष्ठानले हिमालयन क्याटराक्ट प्रोजेक्टको सहयोगमा विशेष बाल आँखा स्वास्थ्यमा केन्द्रित दुई दिने कार्यशाला आयोजना भएको छ। बालबालिकाहरुमा हुने गरेको मोतिबिन्दु डेढोपना, लेन्स लगाउनुपर्ने उपचार लगायत विविध आँखा स्वास्थ्यका समस्याका विषयमा छलफल गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो।
विश्वभरिनै नेत्र विज्ञानको क्षेत्रमा उल्लेखनीय प्राविधिक र सामाजिक आविष्कारहरू विकसीत भइरहेको र सो वातावरणसँग अभ्यस्त रहन नेत्ररोग विशेषज्ञहरु नविन तरिकाहरुको खोजी उक्त कार्यक्रममा हुनेछ। हिमालयन क्याटराक्ट प्रोजेक्टले आफ्नो दीर्घकालीन साकेदार तिलगंगा आँखा प्रतिष्ठानको उत्कृष्ट उपलब्धिहरूमा साथ समर्थन गर्दै बाल आँखा उपचार विभागको स्तरोन्नतीमा सघाउने उद्धेश्यले यस कार्यक्रमका लागि हातेमालो गरेको हो। आजबाट सुरु भउको कार्यक्रम भोलीसम्म चल्नेछ।
कार्यक्रममा प्रमुख बक्तका रुपमा अमेरिकाका प्रसिद्ध बाल आँखा चिकित्सक प्राडा एड्वर्ड विल्सन, भारतमा बाल अँखाको प्रविधिका क्षेत्र विज्ञ डा रमेश केकुन्य र शंकर नेत्रालय रिसर्च विभागकि डा सुमिता अगर्कार अन्तर्राष्ट्रिय वक्ताका रुपमा रहेका छन्। त्यस्तै तिलगंगा आँखा प्रतिष्ठानकी बालआँखारोग विभाग प्रमुख डा सिर्जना अधिकारी र बिर अस्पतालकी वंशानुगत रोग विभाग प्रमुख डा निलम ठाकुर वक्ताका रुपमा रहेका छन्। कार्यक्रममा सहजकर्ताको भूमिकामा डा रोजिता पराजुली, डा आड जांग्मु लामा र डा नम्रता गुप्ता रहेका छन्।
पहिलो दिन आइतबार प्रतिष्ठानकै अडिटोरियम हलमा केस डिस्कसनका केन्द्रित रहेको थियो भने दोश्रो दिन प्रतिष्ठानको सभा हल र सल्यकक्ष बिच अन्तरक्रियात्मक छलफल गरी शल्यक्रिया र प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ। यस कार्यक्रमले विभिन्न संस्था र राष्ट्र को विज्ञतालाई एकै ठाँउमा प्रवाह गरी बालबालिकाको आँखा स्वास्थ्यको उपचारको आयामलाई थप फराकिलो र सुधारोन्मुख बनाउदै लैजाने अपेक्षा गरिएको छ।