ललित बोहरा
बैतडी- यही फागुन १६ देखी बैतडीमा दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु हुने भएको छ। देशभर १३ गतेदेखी सञ्चालन हुने भएपनि बैतडीमा नियमीत खोपलाई असर पर्ने भएकाले १६ गतेबाट अभियान सुरु गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले बताए।
‘पूर्ण खोपः सुरक्षित भविष्य’ भन्ने नारासहित जिल्लाव्यापी रुपमा यो अभियान सुरु हुन लागेकाे हाे। जिल्लाको पुर्चौडी तथा पाटन नगरपालिका, सिगास, डिलासैनी र दोगडाकेदार गाउँपालिकामा यहि फागुन १६ देखि २१ गतेसम्म खोप अभियान संचालन हुने छ भने दशरथचन्द नगरपालिका मेलौली नगरपालिका, शिवनाथ, पञ्चेश्वर र सुर्नया गाउँपालिकामा यही फागुन १७ गतेदेखि २२ गतेसम्म खोप अभियान संचालन गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले जानकारी दिए।
बैतडीमा ९ महिनादेखी ५ वर्ष उमेर समूहका २१ हजार ३ सउ २४ जना बालबालिकालाई खोप लगाइने बुधबार सदरमुकाममा आयोजीत जिल्ला स्तरिय खोप समन्वय समिति तथा संचारकर्मीहरुको अभिमुखीकरण गोष्ठीमा स्वास्थ्य कार्यालय बैतडीले जानकारी गराएकाे हाे।
३ सय ६२ वटा खोपकेन्द्रमार्फत खोप लगाइने छ। खोप कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्यस्वयंसेवी र स्वयंसेव परिचालन गरिने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। दादुरा- रुबेला खोपमा भने नौ महिनादेखि पाँच वर्ष मुनिका बालबालिका मात्र सहभागी हुनेछन्।
दादुरा- रुबेला यदी कुनै बालबालिकामा भएमा एक जनाले कम्तीमा पनि १८ जनालाई सङ्क्रमण गर्न सक्ने भएकाले समयमै खोप लगाउनुपर्ने चिकित्सकको भनाइ छ।
दादुरा–रुबेला विरुद्धको खोप बच्चा जन्मिएको ९ र १५ महिनापछि लगाउनुपर्छ। बालबालिकालाइ सो समयमा दादुरा–रुबेलाको गुणस्तरीय खोप दुई मात्रा दिएमा पूर्णरुपमा नियन्त्रण र निवारण गर्न सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन्। सरकारी तथ्याकंअनुसार नेपालमा पूर्ण खोप नलगाउने २१ प्रतिशत छन्।