काठमाडौं- ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड सञ्चालनमा आएको छ। गैरआवासीय नेपाली समेतको लगानीमा सुरु भएको उक्त औषधि उद्योग काठमाडौंमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले औपचारिक शुभारम्भ गरेका हुन्।
'स्वास्थ्य र राष्ट्रका लागि एक संकल्पुभन्ने नारासहित नेपाली उपभोक्ताका लागि यूरोपियन मापदण्डका औषधि उत्पादन गर्ने ओम मेगाश्री फर्मास्युटिकल्सको प्रतिबद्धता छ।
सभामुख घिमिरेले औषधि उत्पादन क्षेत्रमा पछिल्लो डेढ दशकयता नेपालमा राम्रो प्रगति भएको बताउँदै नेपालजस्तो मुलुकमा औषधि उत्पादन तथा बजार व्यवस्थापन विकसित मुलुकको तुलनामा निकै पछाडि रहेको उल्लेख गरे। ‘धेरै क्षेत्रमा शतप्रतिशत आयातमा भर पर्नुपर्ने अवस्थाकाबीच पनि कुल मागको झण्डै ५० प्रतिशत स्वदेशी उद्योगको उत्पादनले धानिरहेको अवस्था छ। यो अवस्था सुखद छ, तर अझै सुधार गर्नुपर्ने आवश्यकता देखेको छु,’ उनले भने।
कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री पदम गिरी र गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री किरण गुरुङले स्वदेशी औषधिलाई प्रवर्द्धन गर्न नीतिगत व्यवस्था नै लगानीमैत्री हुनुपर्नेमा जोड दिए।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले गुणस्तरीय स्वदेशी औषधि उद्योगको भविष्य राम्रो रहेको बताउादै शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्की, गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसी, प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलगायतले ओम मेगाश्रीलाई सफलताको शुभकामना व्यक्त गरे।
ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने औषधिमा आम समुदायको चासो र लगानी प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै गुणस्तरीय औषधिमा जनताको प्रत्यक्ष पहुँच स्थापित गर्न तथा निर्यातको ठोस कार्ययोजनासहित अगाडि बढ्नुलाई प्रमुख दायित्व ठानेको बताए।
झण्डै सवा अर्ब लगानीमा सुरु भएको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको उत्पादन कारखाना चितवनको जुगेडीमा रहेको छ।