काठमाडौं-नेकपा (एमाले) का सांसद रघुजी पन्तले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पन्तले झन्डा हल्लाउँदै अख्तियारमा बयान दिन जानु दुर्दशापूर्ण दृश्य देख्नुपरेको भन्दै अख्तियारले बयान लिइसकेको मन्त्री पदमा बसिरहन नमिल्ने बताएका हुन्।
‘पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले बोलीमा चुक्दा राजीनामा दिनुभयो। उहाँको गल्ती केही होइन। केपी ओलीको कार्यकालमा उहाँले पदबाट राजीनामा दिनुभयो। पञ्चायतकालदेखि आजसम्मको नेपालको राजनीतिक इतिहासमा अख्तियारले बयान लिन बोलाएपछि कुनै पनि मन्त्री पदमा बस्दैन। झन्डा हल्लाउँदै मन्त्री बयान दिन जाने दुर्दशापूर्ण दृश्य यसैपालि देखियो,’ उनले भने।
रामग्राम क्षेत्रको जग्गा लिजमा दिनु त्रुटिपूर्ण भनेर सरकारी निकायले भनिसकेको र निर्णय फिर्ता भइसकेपछि प्रधानमन्त्रीले लुम्बिनी विकास कोषका उपाध्यक्ष लारक्याल लामा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई प्रधानमन्त्रीले नहटाएको भन्दै पन्तले विरोध गरे।
‘प्रधानमन्त्री सुशासनको भाषण गरेर हिँड्नुहुन्छ। भ्रष्टाचार रोक्ने भाषण गरेर हिँड्नुहुन्छ। पर्यटन मन्त्रीले सिफारिस गरेको र प्रधानमन्त्रीले नियुक्त गरेको लारक्याल लामाले लुम्बिनी विकास कोषको उपाध्यक्षको हैसियतमा रामग्राम क्षेत्रमा गरेको सम्पूर्ण कामलाई सार्वजनिक लेखा समितिले अनुपयुक्त भनेको छ। लारक्याल लामाको लहैलहैमा लागेर प्रधानमन्त्री त्यो कार्यक्रमको उद्घाटन गर्न जानुहुन्छ। यो केको तागतले? अनि प्रधानमन्त्रीले नैतिकताको भाषण गरेर हिँड्न मिल्छ?, नैतिक रूपले पर्यटनमन्त्री र लारक्याल लामालाई उहाँले हटाउनुपर्छ। उहाँले आफैंले पनि जनताको अगाडि जवाफ दिनुपर्छ। उहाँ किन जानुभयो? त्यो अवैधानिक कामको उद्घाटन गर्न किन जानुभयो?,’ उनले भने।