काठमाडौं-नेकपा एमालेकी सांसद सुनिता बरालले मानसिक समस्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मानसिक रोगप्रति सरकारले विभिन्न रणनीतिक योजना बनाएर काम गर्न आवश्यक रहेको बताइन्।
उनले आत्महत्याको समस्या पछिल्लो समय झनै बढेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। मानसिक समस्याका कारण समाजमा अपराध र आपराधिक घटना बढिरहेको भन्दै उनले मानसिक स्वास्थ्यमा सरकारले चासो नदिएको आरोप लगाइन्।
उनले भनिन्, ‘केही दनिअघि ललितपुरमा एक महिलाले आफ्ना दुई बच्चाको हत्या गरी आत्महत्या गरिन्। त्यस्तै काठमाडौँमा तीन जनाको हत्या गरी एक पुरुषले आत्महत्या गरे। आत्महत्याको दर असाध्यै अत्यासलाग्दो तरिकाले बढिरहेको छ। डिप्रेसनका कारण बढेका अपराध र आपराधिक अवस्था डरलाग्दो अवस्था छ। यसतर्फ सरकारको ध्यान जान आवश्यक छ। २०४० सालमा सरकारी तवरबाट ४० बेडका मानसिक अस्पतालको स्थापना भयो। त्यसपछि न अर्को अस्पताल खुल्यो, न मानसिक स्वास्थ्य प्राथमिकतामा नै परेको छ। दिनदिनै मानसिक स्वास्थ्य समस्या बढेको बढ्यै छ। सूचना, प्रविधि र डिजिटलाइजेशनले निम्त्याएका धेरै समस्या छन्। रोजगारी र आर्थिक असहजताले धेरै नै सामाजिक समस्या बढेका छन्।’
उनले सूचना, प्रविधि र डिजिटलाइजेशनका कारण सामाजिक समस्या बढिरहेको बताइन्।