बुटवल- सालझण्डी माध्यमिक विद्यालय सैनामैना–१० झिमझिमियाँ रुपन्देहीमा महिनावारी समस्या, स्तन तथा पाठेघर चेकजाँच सम्वन्धी निःशुल्क स्वास्थ्य शिविरले विपन्नलाई राहत भएको छ।
शनिवार सेवा संचार, सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जालले अभियानको ११ औँ स्थापना दिवसको अवसरमा शिविरको आयोजना गरेको संस्थाका अध्यक्ष एवं सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता गंगा खड्काले जानकारी दिइन्।
विद्यालयमा रहेका छात्रा र उनीहरुका अभिभावकहरुलाई लक्षित गरेर संचालन गरिएको उक्त शिविरबाट एक सय बढी जनाले सेवा लिएका छन्।
गाउँमै पहिलोपटक संचालन भएको महिनावारी स्वास्थ्य शिविरले राहत मिलेको झिमझिमियाँकी स्थानीय २८ वर्षिय सिता विकले प्रतिक्रिया दिइन्। महिनावारी अनियमित भएर जाँच्न आएकी उनले विशेषज्ञ डाक्टरहरुलाई भेटेर समस्या राख्न पाउँदा धेरै खुसी मिलेको बताइन्।
यस गाउँमा करिव ७० प्रतिशत जनजाती र दलित समुदायको बाहुल्यता रहेको विद्यालयका प्रधानाध्यापक खडानन्द घिमिरेले जानकारी दिए। सैनामैना नगरपालिकाभित्र सवैभन्दा दुर्गम क्षेत्रमा उक्त विद्यालय रहेको समेत उनको भनाई छ।
शिविरमा लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रालि बुटवलले प्राविधिक सहयोग गरेको थियो। अस्पतालका महिला तथा प्रसुती रोग विशेष डा.सरस्वती श्रेष्ठ र स्तन क्यान्सर रोग विशेषज्ञ डा.संजय पाण्डेले विरामीको चेकजाँच गरेका हुन्। सामाजिक उत्तरदायित्व बहन गर्दै हरेक वर्ष निःशुल्क स्वास्थ्य शिविरमा सहयोग गरिदै आइरहेको अस्पतालका संचालक बसन्त जिसीले जानकारी दिए।
सैनामैना नगरपालिकाकी उपप्रमुख विना रानाले महिनावारी भएको बेला अझैपनि कतिपय ठाउँमा विद्यालयका छात्रा र महिलाहरुले खुलेर आफ्ना समस्या नराख्ने हुँदा क्यान्सर जस्तो प्राणघातक रोगको शिकार हुने गरेको देखिएको बताइन्। उनले यस्ता सामाजिक अभियन्ता र कार्यक्रमहरुको माध्यमबाट उक्त समस्यालाई कमी गर्न सघाउ पुग्नेमा विश्वास समेत व्यक्त गरिन्।
२०७० सालदेखि गुल्मीको मालिका गाउँपालिकाको छापहिलेबाट शुरु गरिएको सुरक्षित महिनावारी राष्ट्रिय अभियानले विद्यालयका हजारौँ छात्राहरुलाई महिनावारी भएको बेला गरिने सावधानी र सुरक्षाको बारेमा जनचेतना दिएको अभियन्ता गंगा खड्काले बताइन्।