काठमाडौं- काभ्रेको पनौती नगरपालिका वडा नम्बर २ स्थित अन्तेटारमा नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको शनिबार एक समारोहका बीच उद्घाटन गरिएको छ। सो अवसरमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक जाँच (स्किनिङ) शिविर सञ्चालन गरिएको थियो।
नेपाल क्यान्सर केयर फाउन्डेसनको प्राविधिक सहयोग र पनौती नगरपालिका वडा नम्बर २ को आयोजनामा सञ्चालन भएको स्वास्थ्य शिविर क्यान्सर रोग विशेषज्ञ डा सरिता घिमिरेको नेतृत्वमा सम्पन्न भएको थियो। शिविरमा ९७ जना महिलाले सेवा लिएका थिए।
स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्दै पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पनौती नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा एउटा फड्को मारेको बताए। उनले यस स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुले स्थानीयबासीको उपचारलाई भूगोल अनुसार विविधीकरण गर्नुपर्ने आवश्यकता औंल्याए।
पनौती नगरपालिकाकी उपप्रमुख गीता बञ्जाराले क्यान्सर रोगबारे समयमै सजगता अपनाउनुपर्ने र यस्ता शिविरले ग्रामीण क्षेत्रमा क्यान्सर पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई पनौती नगरपालिकाले निरन्तरता दिने उल्लेख गरिन्।
कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले वडाबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न आफूहरु निरन्तर लागिपरेको बताएका थिए।