भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा शारीरिक रुपमा अशक्तहरुको निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ।
सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रको आयोजनामा भीम अस्पतालमा सम्पन्न शारीरिक रुपमा अशक्तहरुको लागि निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा बालबालिका सहित ८६ जनाले सेवा लिएको नगरस्तरीय अपाङ्ग समन्वय समितीको संयोजक समेत रहेकी सिद्धार्थनगरको उपप्रमुख उमा अधिकारीले बताइन्।
शिविरमा अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रबाट खटिएका अनुभवी चिक्तिसकद्धारा परिक्षण गरिएको थियो। ‘शारीरिक अपाङ्गता भएपनि सर्वसाधरणले अनुभवी चिक्तिसद्धारा परिक्षण समेत गराउन नसकेको अवस्था थियो’ उपप्रमुख अधिकारीले भनिन्, ‘शिविर संचालनले सेवा लिएका नगरवासी लाभान्वित भएका छन्।’
उनले शिविरको क्रममा शारीरिक रुपमा अशक्त व्यक्तिहरुको स्वास्थ्य परीक्षण पश्चात आवश्यकता अनुसार दुई जना व्हीलचेयर, तीन जनालाई बैशाखी, एक जनालाई वाकर समेत उपलब्ध गराइएको बताइन्।
‘शिविरमा सेवा लिन आएका व्यक्तिहरुको परिक्षण गर्दा १३ जनाको अपरेशन गर्नुपर्ने देखिएको छ’ उनले भनिन्, ‘अब उनीहरुको अपरेशन समेत हुन्छ, जसका लागि नगरपालिकाको कार्यालयबाट आवश्यक प्रक्रिया अघि बढाउँछौँ।’
उनका अनुसार उक्त शिविरको परिक्षण मार्फत दुई जना व्यक्तिहरुलाई कृत्रिम अंगको आवश्यक देखिएकोले उनीहरुको अंगको नाप लिइएको र कृत्रिम अंगको तयारी पश्चात नगरपालिका र केन्द्रको साझेदारीमा निःशुल्क उपलब्ध गराइने छ। त्यस्तै १६ जनालाई आवश्यक जुत्ताका लागि पैतलाको नाँप समेत लिइएको छ।
सम्पन्न शिविर १८ वर्षसम्मका शारीरिक रुपमा अशक्त बालबालिकाहरुलाई लक्षित गरिएपनि शिविरमा सेवा लिन आएका सो उमेर समूहभन्दा माथीका र अन्य पालिकाका सर्वसाधरणहरुलाई समेत सेवा दिइएको सिद्धार्थनगर नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख कौशिल्या चौधरीले बताइन्।
शिविरमा हात र खुट्टासगँ सम्बन्धित शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरु परिक्षणका लागि बढी आएको अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्रको रुपन्देहीका समाजिक परिचालक राजाराम चौधरीले बताए।