काठमाडौं- नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेपाली कांग्रेस समेत सम्मिलित सत्तागठबन्धन संकटमा परेको छ। संकटको एउटा कारक स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेत बनेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग रहेका असहमति मध्ये एक टेरामक्स खरिद प्रकरणमा छानविनमा रहेका उनलाई मन्त्रीबाट फिर्ता बोलाउनुपर्ने पनि एक हो। झन्डावाल गाडीमा बयान दिन पुगेका मन्त्री बस्नेतलाई हटाउन सभापति देउवा राजी भएनन्।
जुन कुरा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई पटक भेटेको सन्दर्भमा कुरा गर्दै एमाले नेता प्रदीप ज्ञवालीले कतिपय विवादित मन्त्रीहरूलाई हटाउन खोज्दा पनि नदिइएको विषय समेत उठेको बताएका छन्। उनले भने, 'हिजो उहाँले कांग्रेससँगको सहकार्य कठिन हुँदै गएको, त्यहाँभित्र कतिपय विवादित मन्त्रीहरूलाई हटाउन खोज्दा पनि नदिइएको, नचाहेको। अर्थमन्त्रीले लिएका नीतिहरूले मुलुकलाई आर्थिक रुपमा झन् अप्ठ्यारोमा पारेको। र अलिकति नयाँ ढंगले अघि बढ्न खोजेको संकेत गर्नुभएको छ।'
अख्तियार अनुसन्धान दुरुपयोग आयोगले अनुसन्धान सकेको उक्त विषयलाई लिएर मुद्दा दायर गर्ने तयारी गरिरहेको छ। तर, देउवा भने त्यसलाई रोक्न सक्रिय भएका छन्। जसले गर्दा पनि प्रचण्डलाई सकस सिर्जना भएको हो।
सुशासनको कुरा गरिरहेका प्रचण्डमाथि यो विषयका कारण थप प्रश्न उठेको थियो। यसअघि एक वर्षको कार्यकाल पूरा भएको अवसरमा दिएको वक्तव्यमा प्रधानमन्त्री प्रचण्डले मन्त्रालय चलाउन असफल मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने बताएका थिए। मन्त्रालय राम्ररी चलाउन नसकेकामध्ये एक बस्नेत पनि थिए।
कांग्रेससँग मन्त्रीपरिषद् पुनर्गठनलगायत विविध विषयमा असहमतिपछि प्रचण्ड नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा)लगायतसँग गठबन्धन गर्न तयार भएका छन्। ती दलहरुले आन्तरिक छलफल तीव्र पारेका छन्।