पोखरा– मणिपाल शिक्षण अस्पताल पोखरामा तीन महिने ‘क्रिटिकल केयर नर्सिङ तालिम’ सुरु भएको छ। अस्पतालले क्रिटिकल केयर नर्सेज एसोसिएसनअफ नेपाल(सीसीनान) सँगको सहकार्यमा पिसिएल, बीएन, बीएस्सी, एमएस्सी पास गरेका नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त नर्सहरुका लागि आइतबारदेखि तीनमहिने क्रिटिकल केयर प्रशिक्षण सुरु गरेको हो।
गण्डकी प्रदेशमै पहिलो पटक क्रिटिकल केयर नर्सिङ तालिम मणिपाल शिक्षण अस्पतालमा सुरू भएको हो। तालिम छनोटका लागी सुचना प्रकाशन गरिएको र आवेदन आएकामध्ये परिक्षा तथा अन्तर्वाताका माध्यमबाट छनोट गरिएको हो। तलिममा पोखरा तथा पोखरा बाहिरका नर्सहरुको सहभागिता रहेको छ। तालिमको मुल उद्देश्य आईसियुका बिरामीलाई क्वालिटी केयर सर्भिस प्रदान गरी उनीहरुको जीवन रक्षा गर्नु रहेको अस्पतालका नर्सिङ डाइरेक्टर वरुणा पौडेले बताइन्।
यस तालिमले क्रिटिकल केयरमा काम गर्ने नर्सहरुलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप सैद्वान्तिक एवम् व्यवहारिक ज्ञानहरु प्रदान गर्दै गम्भीर प्रकृतिका बिरामीहरुको अवस्था कसरी सुधार गर्ने भन्ने सम्बन्धी उचित प्रशिक्षण प्रदान गरिने र यस तालिमले नर्सहरुलाई अझ दक्ष बनाई क्रिटिकल बिरामीको उपचारमा गुणस्तर सुधार गर्न मद्दत गर्ने सीसीनान्का अध्यक्ष बिमला श्रेष्ठले बताइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मणिपालका डाइरेक्टर नारायण पौडेलले पोखरामा क्रिटिकल केयर सेवा दिन यस तालिमले महत्वपूर्ण भूमिका खेल्ने जनाए। कार्यक्रमा बोल्दै उनले जटिल बिरामीको उपचारका लागि अझै पनि काठमाडौँ लगायतअन्य ठाउमा जानुपर्ने बाध्यतालाई पनि यस तालिमले चिर्ने विश्वास लिएको बताए।
अस्पतालका हस्पिटल डाइरेक्टर डा अभिषेक मास्केका अनुसार यस क्षेत्रमा क्रिटिकल केयर नर्सिङ तालिमको आवश्यकता एकदमै महत्वपूर्ण रहेको छ। मणिपाल शिक्षण अस्पतालका कार्यकारी निर्देशक अनिल ओडुविलले सहभागीहरूलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए।