काठमाडौं- ९३ वर्षीया एक एकल महिलाले न्यूयोर्कको सबैभन्दा गरिब स्थानका रुपमा परिचित ब्रोन्क्समा रहेको ब्रोन्क्स मेडिकल स्कूल, अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनलाई १ बिलियन अमेरिकी डलर उपहार स्वरूप दिएकी छन्।
न्यूयोर्कका वाल स्ट्रिट फाइनान्सरकी पत्नी डा रुथ गोटेसम्यानले त्यहाँ पढ्ने सबै विद्यार्थीहरुको पढाइ खर्च तिर्नका लागि प्रयोग गर्ने सर्तसहित करिब १ खर्ब ३२ अर्ब ६४ करोड नेपाली रुपैयाँ बराबरको रकम मेडिकल कलेजलाई उपहार दिएकी हुन्।
डा रुथ गोटेसम्यान, आइन्स्टाइनकी पूर्व प्रोफेसर पनि हुन्। त्यहाँ उनले सिक्ने असक्षमताहरू बारे अध्ययन गरिन् र त्यसको स्क्रीनिंग गर्ने परीक्षणको विकास गरिन् र साक्षरताका कार्यक्रमहरू चलाइन्। यो उपहार संयुक्त राज्य अमेरिकामा एक शैक्षिक संस्थाका लागि गरिएको ठूलो परोपकारी दानमध्ये एक हो भने मेडिकल स्कूलका लागी सम्भवतः सबैभन्दा ठूलो हो।
डा रुथले उक्त रकम स्वर्गीय श्रीमान् डेभिड गोटेसम्यानबाट प्राप्त गरेकी हुन्। विश्व विख्यात धनाढ्य वारेन बफेटका पार्टनरका रुपमा चिनिएका आफ्ना स्वर्गीय श्रीमान् डेभिड गोटेसम्यानले उनका लागि बिलियन डलर छोडेर गएको पछिमात्रै थाह भएको थियो। स्याण्डी नाम बाट परिचित उनका श्रीमानले बफेटले स्थापना गरेको बर्कसायर ह्याथवेमा प्रारम्भिक लगानी गरेका थिए।
यो उपहार ठूलो रकमका लागि मात्रै नभएर न्यूयोर्ककै सबैभन्दा गरिब बरो ब्रोन्क्समा रहेको मेडिकल कलेजमा जाने भएकाले पनि उल्लेखनीय भएको हो। ब्रोन्क्समा अकालमा मृत्यु हुने दर उच्च छ र यो न्यूयोर्कको सबैभन्दा अस्वस्थ काउन्टीको रूपमा सूचीकृत छ। विगतको पुस्तामा, धेरै अर्बपतिहरूले न्यूयोर्कको सबैभन्दा धनी बरो म्यानहट्टनका प्रख्यात मेडिकल स्कूल र अस्पतालहरूलाई करोडौं डलर दिएका छन्।
डा गोटेसम्यानका अनुसार उनको यो उपहारले नयाँ चिकित्सकहरूले ऋण मुक्त रहेर मेडिकल कलेज छोडी आफ्नो करिअर सुरु गर्न सक्ने छन्। नभए एक चिकित्सकले मेडिकल कलेज छोड्दा उसको टाउकोमा थोरैमा पनि २ लाख डलरको ऋणको बोझ हुन्थ्यो। यसका साथै यो सहयोगले पैसा नभएकै कारण मेडिकल कलेज जान नसकिरहेकाहरूलाई पनि चिकित्सक बन्न सहयोग पुग्ने आशा डा रुथको छ। एजेन्सी