मकवानपुर- मकवानपुरको विकट कैलाश गाउँपालिकाले सीमान्तकृत गर्भवतीलाई पौष्टिक आहार वितरण गरेको छ। आज कैलाश–७ ताम्लाङस्थित ङिको स्थास्थ्य चौकीमा स्थानीय सीमान्तकृत गर्भवतीलाई १२ थरीका पौष्टिक तत्वयुक्त ‘पौष्टिक प्रवर्द्र्धन कोसेली’को प्याकेट वितरण गरिएको हो।
गर्भावस्थामा उचित पोषणको अभावका कारण आमा र गर्भस्थ शिशुको स्वास्थ्यमा प्रतिकूल असर नपरोस् भनेर गर्भवतीलाई पौष्टिक आहार वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
गर्भवती र गर्भको बच्चालाई आवश्यकपर्ने कार्बोहाइडेट, प्रोटिन, भिटामिन र मिनरलयुक्त गेडागुडी, सर्वोत्तम पीठो, बदाम, ओखर, काजु, मासको दाल, कुखुराको अण्डालगायत पौष्टिक आहार मिसाइएको प्याकेट वितरण गरिएको पालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए।
पालिकाले विगत तीन दिनमा ८० जना गर्भवतीको स्वास्थ्य जाँच गर्नुका साथै पौष्टिक आहारको प्याकेट वितरण गरेको उनले जानकारी दिए। गर्भवतीलाई प्रसूतिका निम्ति अस्पतालसम्म पु¥याउन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था पनि मिलाइएको छ।
सुत्केरी हुन स्वास्थ्य चौकी आउनेलाई पालिकाले रु चार हजार आठ सय, बच्चा र आमाका लागि न्यानो कपडा र अन्य पौष्टिक आहार वितरण गर्दै आएको छ।