काठमाडौं- नवौं फर्मा एक्स्पो आज (शुक्रबार) देखि चितवनमा सुरु हुँदैछ। नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा हुने एक्स्पो तीन दिन संचालन हुनेछ। एपोनका अध्यक्ष महेश प्रधानले धराशायी बन्दै गएको नेपाली औषधि उद्योगलाई चिनाउन फर्मा एक्स्पो गर्न लागिएको बताए।
‘हामी अहिले ८४ वटा उद्योग भएर पनि पूर्ण क्षमतामा चलाउन सकेका छैनौ, उनले भने, यसको गुणस्तरीयता र प्रभावकारिता बारे जानकारी दिन पनि एक्स्पो गर्न लागेका हौं।’ नेपालीऔषधि उद्योग गुणस्तरीय भएपनि सबैको पहुंँचमा नपुगेको उनले बताए ।
‘हामीले डब्लुएचओको मापदण्डमा औषधि उत्पादन गरेका छौ, तर सरकारले साथ नदिंँदा हामी पछाडि परे जस्तो भएका छौं।’ उनले भने। संघका वरिष्ठ उपाध्यक्ष एवं एक्स्पो संयोजक प्रभात रुङ्गटाले देशको केन्द्र भागमा रहेको चितवनमा पुनः फर्मा एक्स्पो गर्न पाउँदा गौरवान्भित भएको बताए। सरकारलाई नेपाली औषधि उद्योगले कस्ता प्रविधि, उपकरण, कच्चापदार्थ प्रयोग गरेर औषधि उत्पादन गर्दछन् भनेर जानकारी गराउनु आफूहरुको अर्को उद्देश्य रहेको उनको भनाई छ।
एपोनका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले एक्स्पोमा विदेशी प्रर्दशक र प्रतिनिधि पनि आउने जानकारी दिए। उनका अनुसार यो एक्स्पोमा भारत, सिंगापुर बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौवटा देशबाट प्रतिनिधिहरु आउनेछन्। ‘हामीले एक्स्पोमा औषधिको उत्पादन डेमो पनि प्रर्दशन गर्नेछौं उनले भने, यसले हाम्रा उत्पादन निर्यात गर्न मदत मिल्नेछ।’ एक्स्पोमा १६० वटा स्टल राखिएका छन्।