काठमाडौं- राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिका सभापति जयन्ती राईले विपद्मा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्न कानुन बनाउनुपर्नेमा जोड दिएकी छन्।
राजधानीमा आज आयोजित ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मबाट महिलावादअन्तर्गत विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारसम्बन्धी सचेतना कार्यक्रममा उनले विपद्मा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्ने गरी कानुनी व्यवस्था गरी त्यसको कार्यान्वयनका लागि आवश्यक संरचना बनाइनुपर्नेमा जोड दिइन्।
सेन्टर फर रिप्रोडक्टिभ राइट (सीआरआर), केयर, निड्स नेपाल, ह्युमनेटेरियन पार्टनसिप प्लेटफर्म (एचपीपी) र महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा प्रत्यक्ष चित्रकला प्रदर्शनी, नाटक, कविता, गीत सङ्गीत तथा अन्य प्रस्तुतीकरणबाट विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारका बारेमा सचेतना गराइएको थियो। चित्रकार उमेशचन्द्र अधिकारीले विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारबारे कार्यक्रमस्थलमै चित्र बनाएका थिए। उनले अतिथिबाट थिम लिएर तीन वटा चित्र बनाउनुभएको थियो। उहाँको चित्रलाई दर्शकले टिप्पणी गरेका थिए।
विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारका बारेमा नाट्यकर्मीले मार्मिक नाटक प्रस्तुत गरेका थिए। नाटक हेरेर दर्शक भावुक बनेका थिए। समाजिक परिवेशमा हसाउँदै उनीहरुले विषयवस्तु गहन ढङ्गले उठान गरेर बुझाउने प्रयास गरेका थिए। कवितामार्फत मुनु अधिकारीले महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी वास्तविक पीडा अभिव्यक्त गरे।