काठमाडौं- ६५ वर्षीया महिलामा कलेजो प्रत्यारोपण गरिएको छ। ६५ वर्षीया लक्ष्मीदेवी श्रेष्ठलाई उनका ४५ वर्षीय ज्वाँई श्रीकृष्ण मानन्धरले आफ्नो कलेजो दान गरेका हुन्। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सोमबार २२ औँ कलेजो प्रत्यारोपण गरेको छ।
ज्वाँईले सासूलाई दान गरेको कलेजो प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं कलेजो प्रत्यारोपण विज्ञ पुकारचन्द्र श्रेष्ठको टोलीले गरेको थियो।
श्रेष्ठका अनुसार अंग लिने सासू र अंग दिने ज्वाँई दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए।
केन्द्रले हाल सम्म २२ जनाको कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न गरेको छ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने संस्था हो। भक्तपुरका बलराम नागालाई उनकी ४२ वर्षीया दिदीले कलेजो दिई नेपालमा पहिलो कलेजो प्रत्यारोपणको सुरुवात भएको थियो।