धरान - पत्रकार र सञ्चार संस्थामाथि धम्कीदिंदै गाली गलौज गरेको विषयमा लिखित रुपमा माफी मागेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी सर्जन डा रोशन कलवार र पत्रकारहरुबीच सहमति भएको छ।
बुधबार ईलाका प्रहरी कार्यालय धरानमा भएको चिकित्सक र पत्रकारहरु बीच भएको छलफलमा आफूले सामाजिक सञ्जालमा लेखेका गाली गलौजपूर्ण अभिव्यक्ति हटाएर आगामी दिनमा गाली र धम्की नदिने, प्रेस स्वतन्त्रताको सम्मान गर्ने लिखित माफी मागेपछि दुई पक्षबीच कानुनी प्रक्रियामा नजाने सहमति भएको हो।
आफ्नो विरुद्ध समाचार लेखेको भन्दै डा कलवारले केही दिनदेखि सामाजिक सञ्जालमा पत्रकारलाई जुत्ताको माला लगाउने धम्की सहित गाली गर्दै आएका थिए। सोहि विषयमा पत्रकार महासंघ सुनसरीले शान्ति सुरक्षाको माग गर्दै गत आइतबार ईलाका प्रहरी कार्यालय धरान र इलाका प्रशासन कार्यालय धरानमा उजुरी दिएको थियो। उजुरीको विषयमा छलफल गर्न प्रहरीले मंगलबार डा कलवारलाई प्रहरी कार्यालयमा बोलाएको थियो तर उनी प्रहरी कार्यालयमा नगई धरानको भानुचोकमा ब्यानर सहित माईकिङ गर्दै स्थानीय ब्लाष्ट दैनिक पत्रिका जलाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिएर प्रहरीले उनलाई मंगलबार राती नै बीपी प्रतिष्ठानमा पुर्याएर छाडिदिएको थियो। प्रहरीले छाडेपछि पनि सामाजिक सञ्जालमा सोहि विषयमा लेखेका उनले स्थानीय कपुरीन्यूज डटकमकी पत्रकार रश्मि प्रधानलाई व्यक्तिगत र पारिवारिक विषयमा सोधखोज गरेर म्यासेज पठाएका थिए। त्यसपछि झन् विवाद उत्पन्न भएको थियो। पत्रकार प्रधानले आफुमाथि हिंसा भएको भन्दै उजुरी दिएपनि प्रहरीले दर्ता नगरी मेलमिलाप गराएको हो।
इलाका प्रहरी कार्यालयका डीएसपी नवराज मल्ल, बीपी प्रतिष्ठानका अप्रेसन इन्चार्ज डा राजु रिजाल, पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई, सहसचिव भोला श्रेष्ठ, पत्रकार महासङ्घ सुनसरी शाखाका पूर्व अध्यक्ष तथा अग्रज पत्रकार हर्ष सुब्बा, पूर्वअध्यक्ष केशव घिमिरे, पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष किशोरकुमार कार्की, फोटो पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष विकास राईलगायतका पत्रकारको उपस्थितिमा छलफल भएको थियो।
प्रतिष्ठानको ऐन तथा नियमावलीले प्रतिष्ठानमा कार्यरत रहेका चिकित्सक तथा कर्मचारीले बाहिर काम गर्न नपाउने व्यवस्था गरेको छ। तर डा कलवारले प्रतिष्ठानको प्रवेशद्वार नजिकै ‘टाटा डाईग्नोष्टिक सेन्टर’ नामको मेडिकल सञ्चालन गरेका छन्। सोहि विषयमा स्थानीय सञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि उनी पत्रकार र सञ्चार माध्यम विरुद्ध गाली गलौजमा उत्रिएका थिए।