काठमाडौं- मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमा डा अंकुर साह नियुक्त भएका छन्। डा साहलाई प्रतिष्ठानका कुलपति समेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले उपकुलपतिमा नियुक्त गरेका हुन्।
मुख्यमन्त्री कार्यालयले दिएको जानकारी अनुसार डा साहलाई प्रदेश स्वास्थ्य मन्त्रालयको सिफारिसका आधारमा कुलपतिले नियुक्त गरेका हुन्। स्वास्थ्यमन्त्री वीरेन्द्र साहले फागुन २१ गते डा साहको नाम १ नम्बरमा सिफारिस गरेका थिए।
डा साह प्रतिष्ठानका निमित्त उपकुलपति थिए। उनी प्रतिष्ठानका शिक्षाध्यक्ष रहेको अवस्थामा निमित्तको जिम्मेवारी पनि दिइएको थियो।
डा साहले उपकुलपति नियुक्तिको जानकारी प्राप्त गरेको तर पत्र भने पाइनसकेको जानकारी दिए। 'म बाहिर छु। नियुक्ति भयो भन्ने जानकारी पाएको छु। तर पत्र भने बाहिर भएकाले पाएको छैन,' उनले भने।
गत जेठ २५ गते प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन भएपछि उपकुलपति पद रिक्त थियो। रिक्त रहेको पदमा उपकुलपति नियुक्तिका लागि गत असोज १८ गते दरखास्त आह्वान गरिएको थियो। उपकुलपतिका लागि १५ जनाले आवेदन दिएका थिए।
स्वास्थ्य मन्त्रालयका अनुसार उपकुलपतिका लागि डा साहसहित डा रमेशप्रसाद सिंह, डा योगेन्द्रप्रसाद सिंह, डा पशुपति चौधरी, डा राजेन्द्रप्रसाद साह, डा गौरीशंकर साह, डा विद्यानाथ यादव, डा रोहितप्रसाद यादव र डा सुधीरकुमार सिंहले आवेदन दिएका थिए।