काठमाडौं– नयाँ भवन, युवा चिकित्सकहरुको समूह। वीर अस्पतालमा उपचारका लागि पुग्ने आम बिरामीलाई लाग्दो रहेछ– वीरले मुटु उपचार सेवा भर्खैर विस्तार गरिरहेको छ। फागुन २० गते आफ्नो पितालाई मुटु जँचाउन पुगेका एक युवक भन्दै थिए, ‘वीर अस्पतालमा पनि मुटुको उपचार गर्ने सेन्टर खुलेछ।’
वीरमा उपचारका लागि पुग्ने धेरैलाई त्यस्तै लाग्छ। तर, इतिहास अर्कै छ। नेपालमा मुटुरोगको विशेषज्ञ उपचार सेवा नै यही अस्पतालबाट बिजारोपण भएको थियो। उक्त मिति हो, २०१७ साल। डा मृगेन्द्रराज पाण्डेले इसिजीबाट मुटुको परीक्षण गरेर वीरलाई मुटुको विशिष्टीकृत सेवातर्फ अघि बढाए। नेपालमा पहिलोपटक मुटुको शल्यक्रिया सेवा दिने अस्पताल पनि यही थियो र अस्ट्रेलियन चिकित्सकको नेतृत्वमा ओपन हार्ट सर्जरी पनि यहीँ सफल तुल्याइएको थियो। यहीँ मुटुको एन्जियोग्राफी सुरु भयो, यहीँ पेसमेकर राख्न थालियो।
वीर अस्पतालको मुटु विभागले आफ्नो गर्विलो इतिहासलाई निरन्तरता भने दिन सकेन। एकदिन यस्तो आयो– वीरको मुटु रोग विभाग आफ्नै चालमा गडबडी आयो। मुटु उपचारको मुटु क्याथल्याब नै बन्द भयो। यससँगै धेरै सेवा बन्द भए। मात्र बाँकी थिए– ओपिडी सेवा र नाममात्रको सीसीयू (कार्डियाक केयर युनिट)।
वीर अस्पतालका चारजना युवा उत्साही मुटुरोग विशेषज्ञ (डा समिर पौडेल, डा कुन्जान शेर्पा, डा विनायक गौतम र डा प्रभा चापागाईं कोइराला), अस्पतालको नेतृत्व र मुटुरोग विभागमा कार्यरत कर्मचारीको सामूहिक प्रयासले मुटुरोगको उपचार सेवा बौरिन थालेको छ। वीरमा ‘मुटुको सेवा नभएको’ भन्ने कुरालाई समेत उनीहरुले इतिहास बनाएको एक वर्ष पूरा भएको छ।
बितेको एक वर्षमा यहाँ धेरैथोक भएको छ। स्वास्थ्य मन्त्रालयकै सचिव डा रोशन पोखरेलले आफ्नो मुटुको उपचारमा पहिलो रोजाइ यही वीर अस्पताल बनाए। जुनकुरा उनले आफ्ना सार्वजनिक मन्तव्यमा समेत उल्लेख गरिरहेका हुन्छन्। यसैगरी विख्यात मुटु शल्यचिकित्सक डा भगवान कोइरालाले यही अस्पतालबाट सेवा दिन थालेका छन्।
अस्पतालका मुटुरोग विशेषज्ञ डा कुन्जान शेर्पाका अनुसार एक वर्षमा ४५० जना मुटुका बिरामीले क्याथल्याब सेवा पाएका छन्। ‘कोरोनरी एन्जियोग्राफी अर्थात् क्याथेटर पसाएर मुटुको नसा ब्लक छ कि छैन भनेर हेर्ने काम यहाँ हुन्छ। यदि ब्लक देखिएपछि त्यो नशा खोल्नुपर्ने हुन्छ। जसलाई एन्जिओप्लास्टी भनिन्छ। त्यो ६० जना बिरामीमा गर्यौं। तीमध्ये कति एक्कासी हर्टअट्याक भएर आएका बिरामीलाई प्राइमेरी एन्जिओप्लास्टी र इलेक्ट्रिक एन्जिओप्लास्टी ४५ जना बिरामीलाई गरेका छौं,’ डा शेर्पाले भने।
देशकै पुरानो आमजनको भरोसाको केन्द्र वीरमा बिरामीको उच्च चाप रहन्छ। जहाँ अन्य रोगका बिरामी पनि हुन्छन्। डा शेर्पाका अनुसार मिर्गौला र क्यान्सरका बिरामीको मुटुको बाहिरपट्टी तरल पदार्थ (पेरिकार्डियल इफ्युजन) जम्ने हुन्छ। त्यो तरल पदार्थ तान्ने काम (पेरिकार्डियो सिन्थिस)का लागि यसअघि रिफर गरिन्थ्यो भने अहिले वीरमै हुन्छ।
उमेर उकालो लाग्दै गर्दा कतिजनाको मुटुको धड्कनमा गडबडी आउँछ। कतिपय अवस्थामा त्यो गडबडीका कारण बिरामी बेहोश भएर अस्पताल आइपुग्छन्। त्यस्तालाई बिरामीलाई अस्थायी पेसमेकर जडान गर्ने काम अहिले वीरमा हुन्छ। यसैगरी पेसमेकरसम्बन्धी अन्य सेवा पनि वीरमा फेरि सुरु भएको छ। सीसीयूको सेवालाई फेरि बढाउँदै लैजाने प्रयास जारी राखिएको उनी बताउँछन्।
आज गर्वका साथ सेवाबारे जानकारी दिइरहेका वीरका यी चार युवा चिकित्सकहरुले एक वर्षअघिसम्म मुटुमाथि ढुंगा राखेर बिरामीलाई रिफर गर्थे। सीप थियो, ज्ञान थियो र सेवा सहजै दिन सकिने आत्मविश्वास पनि थियो तर पूर्वाधारको अभावका कारण ‘अर्कै अस्पताल जानू’ भन्ने आशयको चिकित्सकीय भाषा लेखेर साइन गर्दा मुटु गाँठो परेर आउने गरेको डा समिर पौडेल बताउँछन्।
उनी भन्छन्, ‘बिरामीलाई हामीले भन्थ्यौं तपाईंको त एन्जियोग्राफी गर्नुपर्छ गंगालाल जानुहोस् त्यो त ठीकै छ। यहीँ किड्नीको बिरामी छ मुटुको बाहिरपट्टी पानी जम्यो। पानी निकाल्नुपर्यो भने अर्को ठाउँमा जानुहोस्।’ आफूले पढेको, सिकेको र प्रयोगमा ल्याउन सक्ने आत्मविश्वास भएको उपचार सेवाका लागि अन्य अस्पताल पठाउनुपर्ने नियतिविरुद्ध लडेरै भएपनि मुटुरोग विभागलाई तंग्य्राउन आफूहरु कस्सिएर लागेको ७ वर्षदेखि यही अस्पतालमा रहेका डा विनायक गौतमले बताए। डा पौडेल र शेर्पाको भनाइमा थपे, ‘हामी यहाँ डीएम कार्डियोलोजी नै चारजना थियौं। यहाँ कार्डियोलोजी पढाइपनि हुन्छ। हामीसँग सीप पनि छ। ओपिडी इसिजी सेवा वार्डको सेवामा सिमित हुनुपरेको थियो।’
वीरको मुटु विभागलाई वर्तमान अवस्थामा ल्याउन निकै धाउनुपरेको अनुभव सुनाउँछन् डा पौडेल। ‘यसलाई आजको रुपमा ल्याउन हामीले निकै नै धाएका छौं। अर्थमन्त्रालय धायौं। स्वास्थ्य मन्त्रालय धायौं। आफ्नो उपकुलपतिलाई भन्यौं। सवैतिर एकोहोरो लागेकै हौं,’ विगत सम्झिए।
डा शेर्पाका अनुसार समस्या थिए तर उनीहरुले सम्भावना त्यो भन्दा बढी देखेका थिए। त्यही सकारात्मक दृष्टिको परिणाम गएको वर्ष माघमा वीर अस्पतालको पुरानो भवनको पछाडिपट्टीको भवनमा उम्रियो– मुटुरोग विभाग। ‘हामीलाई बिरुवा चाहिएको थियो। रोप्न सकेका थिएनौं। बिरुवा अर्थात् कार्डियोलोजी सेवा सुरु भयो,’ डा पौडेलले भने, ‘अब हामी यसलाई हुर्काउँदै लगिरहेका छौं।’
एकवर्षदेखि लयमा हिँडिरहेको मुटु विभागले बीचमा अवरोध खेप्नुपरेको छ। सरकारले ‘तलब खुवाउन नसक्ने’ भन्दै ठूलो संख्याका अस्थायी कर्मचारीलाई एकैपटक निकालिदियो। निस्किनेमा यो विभागमा कार्यरत कर्मचारी पनि थिए। जनशक्तिको अभाव अहिले मुख्य चुनौती रहेको डा गौतम बताउँछन्। उनले भने, ‘अहिले खड्किरहेको जनशक्ति अभाव हो। ट्रेन नर्स, रेडियोग्राफर अभाव छ। स्टाफ ल्याउन पहल गरिरहेका छौं। अहिले क्याथल्याब हप्तामा चलाउँछौं। २४ सै घन्टा र सातै दिन सेवा दिन सकिन्थ्यो। त्यसका लागि मन्त्रालय र प्रशासनमा अनुरोध गरिरहेका छौं।’
एकपटक त सीसीयू प्याक नै हुन थालिसकेको डा पौडेल बताउँछन्। तर, ठूलो संख्याका कर्मचारीहरु निकालिँदा आधा संख्यामा मात्र शय्या चलाउनुपर्ने बाध्यतामा आफूहरु परेको उनले बताए। ‘जति बिरामीलाई सेवा दिन सकिन्छ, त्यति सवै भर्ना गर्न पनि पाएका छैनौं। हामीले जति खटेर सेवा दिन खोजेको हो, त्यति सेवा दिन गाह्रो भएको छ। यसमा अलिकति जनशक्ति थपिदिने हो भने थप सेवा पनि दिन सकिन्छ,’ उनले भने।
बिरामीले यहीँ सेवा मात्रै पाएका छैनन्, मुटुरोगका विशेषज्ञता हासिल गरिरहेका चिकित्सा शास्त्र अध्ययन संस्थान (न्याम्स)का विद्यार्थीहरुले पनि ‘एक्सपोजर’ पाएका छन्। जसले गर्दा यहाँ कार्यरत चिकित्सक कर्मचारी खुशी छन् तर सेवा विस्तार गर्दै जाने उनीहरुको लक्ष्यमा अस्पताल प्रशासन र स्वास्थ्य मन्त्रालयको भौतिक, आर्थिक र नैतिक सहयोगको अपेक्षा उनीहरुले गरेका छन्।