काठमाडौं- नेपाल मेडिकल कलेजले काठमाडौंको बौद्ध इन्टरनेशनल स्कुलमा दन्त परीक्षण शिविर सञ्चालन गरेको छ।
कलेज अफ डेण्टल साइन्सेज एनएमसीटीएचले सञ्चालन गरेको दुई दिने शिविरमा ४ सय जना विद्यार्थीहरुको दन्त परीक्षण गरिएको कलेजले जनाएको छ।
शिविरमा स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई दाँत तथा मुखको स्वास्थ्य सचेतना समेत दिइएको छ। विद्यार्थीहरुलाई दाँत तथा मुखको सरसफाई, स्याहार कसरी गर्ने भन्ने सचेतना दिइएको हो।
कलेजको सामुदायिक तथा सार्वजनिक स्वास्थ्य दन्त विभागका डाक्टर दीपक ठाकुरले बालबालिकाहरुको दाँत र मुख संवेदनशील हुने भएकोले समयसमयमा चिकित्सकबाट स्वास्थ्य जाँच गराउनु पर्ने बताए।
सामुदायिक स्वास्थ्य सेवामार्फत आम नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य शिविर सञ्चालन गरिएको कलेजले जनाएको छ।
सामाजिक उत्तरदायित्व अन्तरगत सञ्चालन गरिएको शिविरबाट गरिब, विपन्न तथा अस्पतालसम्मको पहुँच नपुगेका नागरिक बढी लाभान्वित हुने अपेक्षा गरिएको छ।