काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले कीर्तिपुरको बर्न अस्पताललाई जलन उपचारको प्रमुख अस्पतालका रुपमा विस्तार गर्न सरकारबाट अनुदान दिने प्रक्रिया अघि बढेको जानकारी दिएका छन्।
प्रतिनिधिसभामा सांसद चन्द्र भण्डारीले सोधेको प्रश्नको मंगलबार जवाफ दिँदै प्रधानमन्त्री दाहालले कीर्तिपुर अस्पताललाई प्रमुख अस्पतालका रुपमा विस्तार गर्दै अन्य अस्पतालमा पनि सेवा विस्तार गर्ने जानकारी दिएका हुन्।
'कीर्तिपुरको बर्न अस्पताललाई जलन उपचारको प्रमुख अस्पतालका रुपमा विस्तार गर्न सरकारबाट अनुदान दिने प्रक्रिया अघि बढेको छ। बर्न अस्पताल विस्तार गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन सम्बन्धमा कीर्तिपुरको बर्न अस्पतालका अतिरिक्त वीर अस्पताल शिक्षण अस्पताल पाटन अस्पतालमा जलन युनिट स्थापना गरी सेवा विस्तार गरिँदैछ,' उनले भने।
प्रधानमन्त्री दाहालले प्रदेशमा रहेका केन्द्रीय अस्पतालहरुमा समेत जलन युनिट स्थापना गरि मध्यम प्रकारका जलनको त्यहीँ उपचार गर्ने र कडा किसिमको लागि रेफर गर्ने व्यवस्था मिलाइने पनि जानकारी दिए।
उनले स्वास्थ्यकर्मीहरुलाई जलनको प्राथमिक उपचारको तालिमको व्यवस्था सुरु गरी प्राथिमक उपचार र सम्बन्धित स्थानमा समयमै प्रेषण गर्ने व्यवस्था मिलाउने र समन्वय गर्ने काम पनि भइरहेको बताए।