काठमाडौं-स्वस्थ जीवनका लागि स्वस्थकर खाना भन्ने मूलनाराका साथ आयोजना गरिएको कार्यक्रम असल खानपान तथा नसर्ने रोग नियन्त्रणका लागि जेष्ठ नागरिकहरूसँग अन्तरक्रिया तथा स्वास्थ्य शिक्षा कार्यक्रम आठौं दिनका दिन बाग्लुङ नगरपालिका १४ नम्बर वडा नारायणस्थानको हटियामा समापन भएको छ।
समापन कार्यक्रममा प्रमुख अतिथि बाग्लुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले यस्ता किसिमका कार्यक्रमहरूले नसर्ने रोगलाई नियन्त्रण गर्न मद्दत पुग्नुका साथै व्यक्तिको सरदर आयु लम्बिने र भविष्यमा हुन सक्ने स्वास्थ्य जटिलताहरूलाई समयमा नै व्यवस्थापन गर्न सकिने विश्वास व्यक्त गरे।
विशिष्ट अतिथि स्वास्थ्य कार्यालय बागलुङका प्रमुख एवं जनस्वास्थ्य प्रशासक बाबुराम आचार्यले जिल्लास्तरमा यस्ता किसिमका कार्यक्रमहरू हुने गरे तापनि समुदाय स्तरसम्म पुर्याउन नसकिएको र जिल्लाभरमा यस्ता किसिमका कार्यक्रमहरू गर्ने वडाहरु एकदम कम रहेको र यस्ता कार्यक्रमहरूको लागि वडाले बजेट विनियोजन गरेकोमा वडा कार्यालयलाई धन्यवाद ज्ञापन गरे।
अर्का वक्ता नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले सदैव जेष्ठ नागरिकहरूको पक्षमा रहेको र जेष्ठ नागरिकहरूका तमाम स्वास्थ्य समस्याहरूलाई सम्बोधन गर्न नगर स्वास्थ्य शाखा हरपल तयार रहेको बताए।
कार्यक्रमका फोकल पर्सन स्वास्थ्य कार्यालयका जन स्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले स्वास्थ्य चौकी र वडाले यस किसिमको कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरे। जेष्ठ नागरिक एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका जेष्ठ नागरिक सदस्य कमलकुमार जिसीले नेपाल सरकारले सञ्चालन गरिरहेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको र जेष्ठ नागरिकहरूलाई थप दुःखमा धकेलेको र बिमा कार्यक्रमलाई व्यवस्थित बनाउन साथै वडाहरुमा पनि बिमा कार्यक्रमहरु छिटो लागू गर्नका लागि सरकारलाई अनुरोध गर्न सम्बन्धित निकाय मार्फत ध्यानाकर्षण गराए।
आठ दिनसम्म चलेको वडास्तरीय जेष्ठ नागरिकहरूको अन्तरक्रिया, स्वास्थ्य शिक्षा साथै स्वास्थ्य परीक्षण कार्यक्रममा ३११ जना जेष्ठ नागरिक एवं दीर्घ रोगीहरूलाई लक्षित गरि गरिएको थियो २२२ जना उच्च रक्तचापका बिरामीहरू, २१ जना मधुमेहका बिरामी, २८ जना उच्च रक्तचाप र मधुमेह दुवै समस्या भएका बिरामी साथै जटिल किसिमका मुटुरोग भएका २५ जना बिरामीहरू रहेका थिए।
जसमध्ये उच्च रक्तचापका ७६ जना बिरामीहरूमा रक्तचाप नियन्त्रणमा नरहेको, मधुमेहका २१ जना बिरामीहरूको मधुमेह नियन्त्रणमा नरहेको साथै उच्च रक्तचाप र मधुमेहका ३८ मध्ये २८ जना बिरामीहरूको अवस्था सुधारमा नरहेको र २५ जना जटिल किसिमका मुटु रोगीहरूको अवस्था पनि सुधार उन्मुख नरहेको उक्त कार्यक्रमको प्रतिवेदनले देखाएको छ।
आठ दिनसम्म चलेको कार्यक्रमको प्रतिवेदन स्वास्थ्य चौकी प्रमुख ऋषिराम शर्माले प्रस्तुत गरेका थिए। समुदाय स्तरमा चलेको कार्यक्रमा स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी सिनियर अहेब टंकनाथ सुवेदी, सिनियर अनमी निरीक्षक सरस्वती शर्मा, सिनियर अनमी सम्झना शर्मा ल्याब असिस्टेन्ट सविता लामिछाने र कार्यक्रमको सहजीकरण स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य निरीक्षक ऋषिराम शर्माले गर्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता १४ नम्बर वडाका वडाध्यक्ष चक्रबहादुर खत्रीले गरेका थिए साथै आगामी दिनहरूमा पनि सामाजिक विकासका लागि बजेट विनियोजन गरिने आश्वासन दिएका छन्। जसमा जेष्ठ नागरिकहरू, बालबालिका, किशोरीहरू र प्रजनन उमेरका महिलाहरूका लागि बजेट विनियोजन गर्ने तयारीमा रहेको बताए।