काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन्। सचिव डा पोखरेलले निर्मल पुर्जाले १४ वटा हिमालको आरोहण गरेको डकुमेन्ट्री ‘फोर्टिन पिक्स’मा जस्तै दुर्गमका स्वास्थ्यकर्मीले निरन्तर काम गरिरहेको भन्दै उनीहरुको प्रशंसा गरेका हुन्।
निक साइमन्स इन्स्टिच्यिटले बुधबार आयोजना गरेको १२औं ग्रामीण स्वास्थ्यकर्मी सम्मेलनमा डा पोखरलले ग्रामीण र दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीले निर्मल पुर्जाले जस्तै काम गरिरहेको बताएका हुन्।
‘हामीले निर्मल पुर्जाको फोर्टिन पिक्स हेरेका छौं। त्यो सबै हाम्रा स्वास्थ्यकर्मीले गरिरहनु भएको छ। तर त्यो सबै चित्रमा उतार्न सकेका छैनौं। अबका दिनमा चित्रमा उतारेर सारा संसारलाई देखाउनुपर्ने दिन आएको छ,’ डा पोखररेलले भने।
डा पोखरलले आफू पनि जागिरको सुरुवाती अवस्थामा दुर्गममा काम गरेको र त्यहाँको दुखका विषयमा जानकार रहेको बताए। ‘दुर्गमका दुखका विषयमा म जानकार नै छु’ उनले भने, ‘सिमित स्रोत र साधनका बाबजुत पनि हाम्रा स्वास्थ्यकर्मीले राम्रो सेवा दिइरहनु भएको छ। दुर्गमका समस्या समाधानका लागि पनि लागिरहेको छु।’
उनले स्वास्थ्य क्षेत्रको विकास र विस्तारका लागि अझै पनि जनशक्ति र बजेटको अभाव रहेको जानकारी दिए।