काठमाडौं– नेपाल ह्याण्ड सर्जरी सोसाइटीले काठमाडौंमा इनगुरल ह्याण्ड सिम्पोजियम आयोजना गर्ने भएको छ।
सोसाइटीले चैत १७ गते काठमाडौंको ठमेलमा ह्याण्ड सिम्पोजियम आयोजना गर्न लागेको हो।
सोसाइटीले पहिलो पटक गर्न लागेको सो सिम्पोजियममा ह्याण्ड सर्जरीको क्षेत्रमा भएका गतिविधि, यसको अभ्यास, प्रविधि लगायतका विषयमा चिकित्सकहरुले प्रस्तुति दिनेछन्।
कार्यक्रममा एसिया प्यासिफिक ह्याण्ड सर्जरी सोसाइटीका चिकित्सक लगायत ८ जना विदेशी चिकित्सक तथा नेपालका अर्थोपेडिक सर्जन, प्लाष्टिक सर्जन, जनरल सर्जन, रेजिडेन्ट चिकित्सकहरुको पनि सहभागिता रहनेछ। कार्यक्रममा १५० जना चिकित्सक तथा यो क्षेत्रसँग सम्बन्धित व्यक्तिको सहभागिता रहने सोसाइटीकी महासचिव डा सिलु श्रेष्ठले जानकारी दिइन्।
कार्यक्रमको पहिलो चरणमा एकेडेमिक सेसनहरु हुनेछन् भने दोस्रो चरणमा नेपालमा ह्याण्ड सर्जरी सोसाइटीको औपचारिकता घोषणा गर्ने कार्यतालिका समेत रहेको छ।
ह्याण्ड सर्जरीको विषयमा नेपालमा चेतना कम भएको र यो विधिको विषयमा जानकारी दिने उद्देश्यले पनि कार्यक्रम तय गरिएको सोसाइटीकी महासचिव डा श्रेष्ठले जानकारी दिइन्।
‘अर्थोपेडिकमा स्पाइन सर्जरी, जोर्नी प्रत्यारोपण लगायत विभिन्न विशिष्टकृत विधा छ, आँखामा पनि विभिन्न भागको स्पेसिफिक चिकित्सकहरु छन्, तर ह्याण्ड सर्जरीको विषयमा मान्छेहरुलाई थाहै छैन,’ डा श्रेष्ठले भनिन्, ‘ह्याण्ड सर्जरी पनि एउटा विशिष्टकृत विधा हो। हातमा हुने विभिन्न समस्याहरुको उपचार गर्ने विधा हो। नेपालमा यसको विकास हुँदै छ भन्ने जनचेतना हुन्छ भनेर पनि कार्यक्रम आयोजना गरेका छौं।’