काठमाडौं- सुर्तिजन्य पदार्थको सेवन नियन्त्रणमा सक्रिय 'ब्लुमबर्ग फिलान्थ्रोपिज'को सिंगापुरमा दुई दिने बैठक भएको छ। जहाँ नेपालका तर्फबाट सुर्तिजन्य पदार्थ नियन्त्रणका लागि गरिएका प्रयास र अभ्यासका बारेमा समेत विशेष प्रस्तुति राखिएको थियो।
नेपालका तर्फबाट एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले उक्त प्रस्तुति राखेका हुन्। सुर्तिजन्य पदार्थको नियन्त्रणका लागि राम्रो प्रयास भइरहेका देशहरुमा नेपाल, अस्ट्रेलिया र मेक्सिकोका विशेष प्रस्तुति थिए।
सार्वजनिक स्थलमा धुम्रपान सेवन नियन्त्रणका लागि कानुन निर्माण र कार्यान्वयनका साथै सूर्तिजन्य पदार्थको प्याकेटमा यसबाट हुने हानी सम्बन्धि जानकारी राख्नेन विषय (पिक्टोरियल हेल्थ वार्निङ)मा नेपालले राम्रो प्रगति गरेको छ। सोही विषयलाई आफूले उक्त सम्मेलनमा प्रस्तुत गरेको अध्यक्ष चन्दले जानकारी दिए।
उनले भने, 'सुर्तिजन्य पदार्थको नियन्त्रणका लागि नेपालले गरेको राम्रा प्रयासका बारेमा जानकारी गरायौं। साथै सुर्तिजन्य पदार्थका उत्पादकले कानुन परिपालना नगर्ने र घुमाउरो बाटोबाट सहयोग गर्ने कुरा चुनौतीका रुपमा रहेको हामीले राखेका छौं।'
कानुन निर्माण र यसको कार्यान्वयनमा राजनीतिक नेतृत्वले चासो देखाएपनि सुर्तिजन्य पदार्थ उत्पादकले गैरकानुनी रुपमा प्रायोजन गरेको कार्यक्रममा सहभागी हुने गरेको कुरा समेत उक्त सम्मेलनमा उठेको थियो। चन्दले भने, 'अन्य देशहरुको तुलनामा नेपालले कानुन निर्माणमा राम्रै प्रगति गरेको छ। तर, कार्यान्वयन गर्न नदिन सुर्तिजन्य पदार्थका उत्पादकहरु सक्रिय छन्। जुन नेपालका लागि चुनौती रहेको बताएका छौं।'
दुई दिनसम्म चलेको कार्यक्रममा इन्डोनेसिया, चिन, भियतनाम, फिलिपिन्स, बंगलादेश, म्यानमार, कम्बोडियालगायतका देशका प्रतिनिधिहरु सहभागी थिए।