काठमाडौं- दृष्टि आँखा केन्द्र, कलंकी र काठमाडौं महानगरपालिका १५ नं वडाको आयोजनामा दृष्टि विशेषज्ञ दिवसका अवसरमा हारती शिक्षा मन्दिरको परिसर, स्वयम्भूमा बृहत आँखा शिविर सम्पन्न भएको छ।
शिविरमा ६०० भन्दा बढीलाई नि:शुल्क आँखा जाँच, रेटिना स्क्रीनिङ , नि:शुल्क औषधि तथा नि:शुल्क चस्मा वितरण गरिएको छ।
कार्यक्रमको सुरुवात काठमाडौं महानगरपालिका - १५ का वडा अध्यक्ष इश्वरमान डंगोल, सेवा फाउण्डेशनका क्षेत्रीय प्रबन्धक रविन्द्र शाक्य, दृष्टि आँखा केन्द्र, कलंकीका कार्यकारी निर्देशक वरिष्ठ डा भाईराजा श्रेष्ठ, वरिष्ठ दृष्टि विशेषज्ञ तथा आउटरिच प्रवन्धक सत्येन्द्र सिंह र हारती शिक्षा मन्दिरका संचालक कमल अग्रवालको उपस्तिथीमा दिप प्रज्जवलन गरि गरिएको थियो।
दृष्टि आई केयर सिस्टम २०७० साल असोज २८ गते देखि झापा जिल्लाको विर्तामोडबाट सुरु भएको हो। आफ्नो स्थापनाकालदेखि नै सबैका लागि दृष्टि, सधैका लागि दृष्टि भन्ने मूल नाराका साथ एक अन्तर्राष्ट्रिय स्तर तथा सुलभ दरमा आँखाको सम्पूर्ण सेवा प्रदान गर्ने उदेश्यले यस संस्थाको सुरुवात भएको हो।
आफ्नो स्थापना काल देखि नै नेपालमै पहिलो पल्ट ५ वर्ष मुनिका बालबालिकाहरुको नि:शुल्क आँखा परीक्षण गर्दै आएको छ। नेपालमा मात्र नभइ भारत, भुटान, बंगलादेश र अन्य विदेशी मूलकका जनतालाई पनि सेवा प्रदान गरिरहेको अस्पतालले १० वर्षको अन्तरालमा देशका ३ प्रदेश मा १४ वटा शाखा विस्तार गर्न सफल भएको छ।
हाल, नेपालको सबैभन्दा ठूलो निजी आँखा हेरचाह प्रणालीमा सबैभन्दा बढी दृष्टि विशेषज्ञहरु” कार्यरत छन् र विभिन्न विशेषज्ञ सेवाहरु बाट सेवा दिइरहेका छन्।