काठमाडौं- पूर्व स्वास्थ्य सचिव डा प्रवीण मिश्रको निधन भएको छ। डा मिश्रको उपचारका क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको हो। स्वास्थ्यमा समस्या आएपछि उनको आइसीयूमा राखेर उपचार भइरहेको थियो।
डा मिश्रको परिवारले दिएको जानकारी अनुसार उनको पित्तथैलीमा समस्या देखिएपछि स्वास्थ्य अवस्था गम्भीर भएको थियो। अस्पतालमा शल्यक्रियापछि उनको अवस्था झनै गम्भीर भएको थियो। शल्यक्रियापछि मस्तिष्कघात भएपछि गम्भीर अवस्थामा रहेका उनको उपचारकै क्रममा मंगलबार राती साढे ९ बजेतिर निधन भएको परिवारले जानकारी दिएको छ।
डा मिश्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लामो समयसम्म सेवा गरेका थिए। उनले मन्त्रालयमा सचिवका रुपमा झण्डै पाँच वर्ष काम गर्ने मौका पाएका थिए। २०६६ सालमा सचिव भएका उनले २०७१ सालसम्म सेवा गरेका थिए।
दन्त रोग विशेषज्ञ डा मिश्रले अवकास पछि पनि चिकित्सकिय अभ्यास जारी राखेका थिए।
अवकासपछि उनी केही समय राजनीतिमा पनि सक्रिय भए। उनले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सक्रिय रहेर काम गरेका थिए।
डा मिश्र महोत्तरी पिपराका हुन्। डा मिश्रको निधनपछि मधेश प्रदेश डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुजित कुमार झाले पिपराबाट पहिलो सचिव बन्न सफल डा मिश्रको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरका छन्।