काठमाडौं- आफ्ना तीन बुँदे माग पूरा नभएको भन्दै त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ चिकित्सा शास्त्र अध्ययन संस्थान आयुर्वेद क्याम्पस एकाई समिति कीर्तिपुरले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएको छ।
प्राध्यापक संघले फागुन ४ गते नै विज्ञप्ति मार्फत १५ दिनभित्र सम्बोधन गर्न अल्टिमेटम दिएको थियो। तर उक्त अवधिमा पनि माग पूरा नभएपछि संघले थप आन्दोलनका कार्यक्रम अगाडि बढाउने क्रममा मंगलबारदेखि क्याम्पसमा ताला लगाएको हो।
संघका सचिव डा युगराज सापकोटाले मागका विषयमा क्याम्पस प्रशासनबाट सकारात्मक पहल नभएकोले ताला लगाउन बाध्य भएको जानकारी दिए।
संघले चिकित्सा शिक्षा आयोग र नेपाल आयुर्वेद चिकित्सा परिषदको नियम अनुसार यस क्याम्पसलाई विभिन्न विभागमा चाहिने फ्याकल्टी नियमानुसार नभएको हुनाले फ्याकल्टी काउन्ट हुनलाई र कम्तिमा हरेक विभागमा उप-प्राध्यापक स्थायी वा करार हुनुपर्ने प्रावधान भएकोले यस आयुर्वेद क्याम्पसमा विगत लामो समय देखि विभिन्न विभागमा शिक्षण सहायक पद (करार) मा कार्यत रही आएका शिक्षकहरुलाई उप- प्राध्यापक पद (करार) मा काम गरेको अनुभव खुलाई अन्तर्वार्ता प्रक्रिया वा स्वत बढुवा हुने गरि पदपूर्ति गर्नुपर्ने प्रमुख माग राखेको छ।
यस्तै चिकित्सा शास्त्र अध्यन संस्थान अन्तर्गतका कार्यरत शिक्षकहरुलाई त्रि.वि. शिक्षण अस्पताल महाराजगंजले स्वास्थ्य उपचारमा ९०% छुट को व्यवस्था गरेको छ । त्रि.वि. कार्यकारी परिषदले स्वास्थ्य उपचार कोष संचालन सम्बन्धि विनियम २०८० ले यस अस्पताल तथा क्याम्पसमा कार्यरत सम्पूर्ण शिक्षकहरुको तलबबाट मासिकरुपमा १ प्रतिशत रकम कट्टा गरि उपचार कोषमा बिना कुनै जानकारी तथा विना कार्यविधि जम्मा गरेको हुनाले सो रकम अबदेखि नकाट्न र काटिसकेको रकम यथाशिघ्र तलबमा थप गरि फिर्ता गर्न पनि माग गरेको छ।
आयुर्वेद क्याम्पसमा कार्यरत शिक्षकहरुको हकमा त्रि.वि. कार्यकारी परिषद्को मिति २०८० असोज २७ मा बसेको बैठकको निर्णय नं. २३५१ (ञ) को अन्य व्यवस्था अन्तर्गत ३ नं. अनुसार चि.शा.अ.स. अन्तर्गत रहेका क्याम्पसमा कार्यरत शिक्षकहरु र अस्पतालमा कार्यरत शिक्षक कर्मचारीहरुको हकमा पूर्व व्यवस्था अनुसार कायम भएको अतिरिक्त पारिश्रमिक तथा प्रोत्साहन भत २०८० मंसिर १ गतेदेखि लागु हुने गरि यथावत कायम गरि सो समयावधि देखिको अतिरिक्त पारिश्रमिक भत्ता तलबमा संलग्न गरि यथाशिघ्र पठाउन पनि माग गरेको छ।