काठमाडौं- कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाको हाइपर प्याराथाइरोडिजमको शल्यक्रिया भएको छ। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिसमेत रहेकी देउवाको दिल्लीस्थित म्याक्स हस्पिटल, साकेतमा बुधबार शल्यक्रिया भएको हो।
दुई वर्षदेखि उपचार गराउँदै आएकी देउवा चिकित्सकको सल्लाहअनुसार शल्यक्रियाका लागि चैत २ मा दिल्ली गएको स्वकीय सचिव कमल रावलले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।
'कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य आरजु राणा देउवा विगत दुई वर्षदेखि स्वास्थ्य समस्याका कारण चिकित्सकहरूको सल्लाह अनुसार भारतको नयाँ दिल्लीमा फलोअप उपचार गर्दै आउनु भएको थियो', रावलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'चैत्र २ गते संघीय संसद् सचिवालयलाई जानकारी गराई स्वास्थ्य उपचारका लागि भारत जानुभएको थियो। चिकित्सकहरूको सल्लाह अनुसार उहाँको नयाँ दिल्ली स्थित म्याक्स हस्पिटल, साकेतमा चैत १४ गते हाइपर प्याराथाइरोडिजमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।'