काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पतालमा श्रमिक समर्पित बेडको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरेको छ।
श्रम मन्त्रालयले आन्तरिक तथा बाह्य रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी अस्पतालहरूमा निश्चित बेड तोक्ने व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो।
श्रमिकहरूमा स्वास्थ्य सम्बन्धी चेतनाको अभाव छ। फलस्वरुप श्रमिकहरू गम्भीर प्रकृतिका स्वास्थ्य समस्याबाट गुज्रिन रहेका छन्। त्यस्तै दुर्घटनाका कारण पनि श्रमिकहरू स्वास्थ्य सङ्कटमा परेका छन्। तसर्थ श्रमिकको शीघ्र स्वास्थ्य उपचारका लागि श्रमिक समर्पित बडको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको श्रममन्त्री डोलप्रसाद आर्यलले बताए।
मन्त्रालयले विशेष गरी औद्योगिक कोरिडोर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्राम भएका क्षेत्रहरूमा स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको अस्पतालमा, स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालहरूमा श्रमिक समर्पित बेडको व्यवस्था गर्न आग्रह गरिएको हो। अस्पतालको बेड क्षमताका आधारमा निश्चित सङ्ख्यामा बेडहरू छुट्याई दिन मन्त्रालयले आग्रह गरेको हो।
त्यस्तै, मन्त्रालय अन्तर्गतका प्रतिष्ठान र अस्पतालहरूमा श्रमिक हेल्प डेस्क समेत राख्न आग्रह गरिएको छ। श्रमिकहरूलाई प्राथमिकता दिई स्वास्थ्य सुविधा उपलब्ध गराउन तथा विदेशबाट रोग लागी उपचार गर्न फर्किएका श्रमिकहरूलाई उपचार लगायतका विषयहरूमा सूचना एवं परामर्श दिनका लागि सहयोग कक्ष राख्न आग्रह गरिएको हो। अस्पतालमा उपयुक्त जनशक्ति सहितको एक स्वास्थ्य परामर्श इकाई स्थापना गर्न समेत आग्रह गरिएको छ।
नेपालमा औपचारिक तथा अनौपचारिक क्षेत्रमा गरी करिब ७० लाख श्रमिकहरू कार्यरत छन्। यसका साथै वार्षिक सात लाख भन्दा बढी सङ्ख्यामा श्रमिकहरू वैदेशिक रोजगारीमा जाने गरेका छन्।