काठमाडौं- क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले फोक्सोको क्यान्सरको इजिएफआर म्युटेसन बारेमा थप अध्ययनका लागि बराबरको फेलोसिप पाएका छन्। युरोपियन सोसाइटी अफ मेडिकल अंकोलोजी र नेशनल युनिभर्सिटी हस्पिटल सिंगापुरले ४ लाख ५० हजार बराबरको फेलोसिप उपलब्ध गराएको हो।
उक्त कार्यक्रम आगामी सातादेखि नेशनल क्यान्सर सेन्टर सिंगापुरमा हुनेछ। ‘युरोपियन सोसाइटी अफ मेडिकल अन्कोलोजीले हरेक वर्ष एशियाका ९ देखि १० देशका क्यान्सर रोग विशेषज्ञहरुलाई यसबारे तालिम दिने गरेको छ। नेपालबाट डा शाही छनोट भएका हुन्।
उक्त तालिममा विश्वका ख्यातिप्राप्त क्यान्सर रोग विशेषज्ञको सहभागिता रहेनछ। जहाँ अस्पतालमा आधारित सिकाइ आदान-प्रदान हुने उनले बताएका छन्।
फोक्सोको कोषिकाहरु अनियन्त्रित भएर विभाजन हुने अवस्था फोक्सोको क्यान्सर हो। स्मल सेल र नन-स्मल सेल जुन सामान्यतया दुई भागमा बाँडेर हेर्ने गरिएको छ। नन-स्मल सेलतर्फ एडिनोकार्सिनोमा फोक्सोको क्यान्सरमा बढी देखिने उपप्रकारमा पर्ने उनी बताउँछन्।
एडिनोकार्सिनोमा थप म्युटेसन भएर थप उपप्रकारका क्यान्सर देखिन्छन्। त्यसैमध्येको एक इजीएफआर हो। फोक्सोको क्यान्सरमा इजिएफआर म्युटेशन हुने बिरामीको संख्या १० देखि १५ प्रतिशत हुने विभिन्न अध्ययनहरुले देखाएको उनी बताउँछन्। यही विषयमा उनले थप ज्ञान हासिल गर्ने भएका हुन्।