सिमकोट (हुम्ला)- हुम्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले दलित विपन्न तथा एकल महिलाका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुुरु गरेको छ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ मा विनियोजित बजेटमार्फत पहिलो चरणमा ५९ दलित विपन्न महिला तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बीमा गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक नरबहादुर भण्डारीले बताए। वडा नं १ मा दलित समुदायको बसोबास नभएकाले वडा नं २ देखि ८ सम्मका विपन्न तथा एकल महिलाको स्वास्थ्य बीमा गरिएको संयोजक भण्डारीले बताए।
यस्तै वडा नं २ मा रहेका १४, वडा नं ३ का १०, वडा नं ४ मा एक, वडा नं ५ मा आठ, वडा नं ६ मा सात, वडा नं ७ मा आठ र वडा नं ८ मा रहेका ११ एकल दलित महिलाको निःशुल्क स्वास्थ्य बीमा गरिएको गाउँपालिका संयोजक भण्डारीले बताए। वडा नं १ मा दलित समुदायको बसोबास नभएकाले बीमा कार्यक्रम लागू नभएको हो।
प्रतिव्यक्ति लाग्ने बिमित रकम रु तीन हजार पाँच सय गाउँपालिकाले तिरिदिएको गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनुभयो। स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्ने भएको गाउँपालिका अध्यक्ष भण्डारीको भनाइ छ। आगामी आर्थिक वर्षबाट दीर्घरोगका बिरामीकोसमेत निःशुल्क स्वास्थ्य बीमा गरिने भएको उनले बताए।
निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा अब छुटेकालाई पनि चाँडै बीमा कार्यक्रमा समेटिने भएको अध्यक्ष भण्डारीको भनाइ छ। असारपछि दलित, विपन्न र एकल महिला मात्रै नभएर सूचीकृत भएका दीर्घरोगी पुरुष तथा महिलालाई निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउँदै जाने गाउँपालिकाले जनाएको छ। रासस