हेटौंडा- बागमती प्रदेशको स्वास्थ्यमन्त्रीमा रामेश्वर श्रेष्ठ नियुक्त भएका छन्। मन्त्री श्रेष्ठले मंगलबार नै पदभार ग्रहण गरेका छन्।
नवनियुक्त मन्त्री श्रेष्ठले स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सर्वपक्षीय आत्महत्या न्यूनीकरण सम्बन्धी संयन्त्र बनाई व्यापक जनचेतना फैलाउने निर्णय गरेका छन्। मन्त्री श्रेष्ठले बागमती प्रदेशमा रहेका १३ वटै प्रादेशिक अस्पतालहरू र आयुर्वेद चिकित्सालयहरूमार्फत मानसिक रोगको निदान एवं उपचार सेवा प्रदान गर्ने निर्णय गरेका हुन्।
उनले स्थानीय तहको साझेदारीमा समुदाय स्तरमा मानसिक स्वास्थ्यको स्क्रिनिङ्ग र निदान एवं मनोसामाजिक परामर्शलाई सुदृढीकरण गर्ने निर्णय पनि गरेका छन्।
मन्त्री श्रेष्ठले प्रदेश स्वास्थ्य नीति, २०८० को मस्यौदाको स्वीकृत गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजानुपूर्व आर्थिक मामिला तथा योजना मन्त्रालयमा रायका लागि पठाउने निर्णय समेत गरेका छन्।
श्रेष्ठ दोस्रो पटक स्वास्थ्य मन्त्री भएका हुन्। यसअघि उनी एक वर्षअघि २ महिना स्वास्थ्यमन्त्री भएका थिए।