दाङ- दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवालाई थप प्रभावकारी बनाउन नयाँ अत्याधुनिक मेसिन जडान गरिएको छ। लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अनुदानकोरुपमा सहयोगस्वरुप प्रतिष्ठानलाई अहिलेको नयाँ प्रविधिको रुपमा थुलियम मेसिन प्रदान गरेको हो।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल र प्रदेश स्वास्थ्य सचिव डा जनार्दन पन्थीले संयुक्तरुपमा प्रतिष्ठानका उपकुलपति डा विकास लामिछाने र रजिस्ट्रार प्राध्यापक श्याम लम्साललाई मेसिन हस्तान्तरण गरे। यो मेसिन देशका सिमित अस्पतालहरूमा मात्र रहेको र अब लुम्बिनी प्रदेशका जनताले युरोलोजी सेवा लिन काठमाडौं धाउनु पर्ने अवस्थाको अन्त्य हुने रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले बताए।
युरोलोजी सेवालाई व्यवस्थित, सुरक्षित, प्रभावकारी बनाउन यो मेसिन प्रदेश स्वास्थ्य मन्त्रालयको सहयोगमा प्रतिष्ठानमा थप गरिएको युरोलोजीष्ट डा प्रबोध रेग्मीले बताए। यो मेसिन जडान भइ संचालनमा आइसकेको छ। मेसिनको सहायतामा मिर्गौला, नली र पिसाब थैलीको पत्थरी फुटाल्न, प्रोष्टेटको ग्रन्थी र क्यान्सरको जोखिम भएको मासु निकाल्न पनि सकिने छ।
युरोलोजीष्ट डा रेग्मीले मेसिन जोडिएसंगै युरोलोजी सेवा लिन अब अन्यत्र जानु नपर्ने भन्दै सबै सुबिधा प्रतिष्ठानमा रहेको पनि बताए।
प्रतिष्ठानमा युरोलोजी सेवा अन्तरगत हालसम्म ३ सय साना तथा ठूलो अप्रेसन गरिएको र सबै अप्रेसनहरु सफल भएको डा रेग्मीले जानकारी दिए।