चितवन- भरतपुर अस्पतालको ६८ औं वार्षिकोत्सवको अवसरमा इच्छाकामना गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। गाउँपालिकाको वडा नम्बर ७ को आधारभूत स्वास्थ्य सेवा केन्द्र स्याङ्गदीमा विशेषज्ञ चिकित्सक सहित निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो।
शिविरमा फिजिसियन, सर्जन, स्त्री तथा प्रसुती रोग विशेषज्ञ, नाक, कान घाँटी रोग विशेष, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ, डेण्टल सर्जन, छाला तथा यौनरोग विशेषज्ञ र रेडियोलोजिष्ट सहितको टीमले सेवा दिएको थियो । शिविरमा आएका सबै प्रकारका बिरामीको परीक्षण तथा परामर्श दिइएको अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले जानकारी दिए।
शिविरमा नाक–कान–घाँटीतर्फ ४१, मेडिसिनतर्फ ३२५, हाडजोर्नीतर्फ ४०, भिडियो एक्सरेतर्फ १५५, छाला तथा यौनरोग तर्फ ७५, सर्जरीतर्फ ३६, स्त्री तथा प्रसूति तर्फ ६७, दन्त रोग तर्फ ५६ जनाले सेवा लिएका छन् भने १७ जनाको दाँत निकालिएको र पाँच जनाको माइनर सर्जरी गरिएको छ।
शिविर उद्घाटन समारोहमा इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पालिकामा अझै धेरै विकट र स्वास्थ्य उपचार पहुँचका लागि कठिन स्थानहरु भएको चर्चा गर्दै भरतपुर अस्पतालले भविष्यमा अन्य विकट ठाउँहरुमा पनि शिविर राख्ने आशा व्यक्त गरे।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले आउँदा दिनहरुमा अझै दुर्गम वडा र गाउँहरुमा वर्षभरी नै यस्ता खाले शिविर आयोजना गर्ने आफ्नो लक्ष्य रहेको बताए।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ड डा श्रीराम तिवारीले विभिन्न सरोकारवाला, गाउँपालिका र विशेषज्ञहरुको सल्लाहमा यो ठाउँमा शिविर आयोजना गरिएको बताए। उनले प्रयोगशाला (सुगर, पिसाब परीक्षण), भिडियो एक्सरे, ईसिजी मेसिन सहित विशेषज्ञ टोलीले गाउँमा आएर उपचार गर्न पाउँदा आफूलाई खुशी लागेको भन्दै यस्ता कार्यक्रमबाट धेरैभन्दा धेरै लाभ लिनुपर्ने बताए।
वडा नम्बर ७ का अध्यक्ष बमबहादुर थापा मगरले आफ्नो वडामा यस्तो भव्य शिविर गर्न पाउँदा खुशी लागेको बताए। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिबहादुर देवकोटाले यस्तो शिविरले पालिकावासी सम्पूर्ण बिरामीले सजिलोसँगै अस्पतालमा जस्तै सेवा पाएको बताए।