धरान- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य निर्देशनालय, कोसी प्रदेश सरकारको संयुक्त सहकार्यमा सङ्खुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा र ताप्लेजुङ जिल्लाका जिल्ला अस्पतालहरूमा टेलिमेडिसिन सेवा सुचारु हुने भएको छ।
प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच कोशी प्रदेशका स्वास्थ्यमन्त्री प्रदीप कुमार सुनुवारले कार्यक्रमको उद्घाटन गरी शुभारम्भ गरे।
कार्यक्रममा प्रतिष्ठानलाई हब अस्पतालको रूपमा विकास गरी उल्लेखित जिल्ला अस्पतालहरूमा उपलब्ध हुन नसकीरहेका विशेषज्ञ सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ। उक्त टेलिमेडिसिन कार्यक्रम मार्फत सेवाग्राहीहरूले सम्बन्धित जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरू मार्फत प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरू सँग सम्पर्क स्थापित गर्न सक्ने छन्।