ललितपुर- भैंसीपाटीस्थत नेपाल मेडिसिटी अस्पतालले हालसम्म दुई हजार ब्रेन सर्जरी गरेको बताएको छ। अस्पतालले ब्रेन ट्युमर, आकस्मिक ब्रेन सर्जरी, कुनै पनि प्रकारको स्ट्रोक, मेरुदण्डको नसा च्यापेको तथा मेरुदण्ड मिलाउनुपर्ने लगायतका ब्रेनसँग सम्बन्धित दुई हजार शल्यक्रिया गरेको शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै जानकारी दिएको हो।
हाल अस्पतालमा सबै प्रकारमा न्यूरो सम्बन्धी समस्याहरुको उपचार हुने गरेको छ। पछिल्लो समय अस्पतालले न्यूरो इन्टरभेन्सन अर्थात ब्रेन नखोली दुरबिनको सहायताले शल्यक्रिया सेवा प्रदान गर्दै आइरहेको छ। गत वर्षबाट सुरु भएको उक्त विधिद्वारा हालसम्म १५० बिरामीहरुले शल्यक्रिया सेवा लिइसकेको डा प्रसन्ना कार्कीले बताइन्।
अस्पतालका न्यूरो सर्जरी विभाग प्रमुख प्राडा गोपाल रमण शर्माका अनुसार अस्पतालमा रहेका अत्याधुनिक प्रविधि, शल्यक्रिया कक्ष तथा विशेषज्ञ चिकित्सकहरुका कारण जटिल प्रकारका केसहरुको पनि सफल उपचार सम्भव भएको हो। करिब ३ दशक लामो न्यूरो सर्जरीको अनुभव भएका उनले हालसम्म २० हजार भन्दा बढी शल्यक्रिया गरिसकेका छन्।
न्यूरो सर्जरीमा अस्पतालको मृत्युदर हेर्दाे ब्रेन ट्युमर सर्जरीमा एक प्रतिशत भन्दा कम, एन्यूरिजम न्यूरोभास्कुलर सर्जरीमा १० प्रतिशत र गम्भीर हेड इन्ज्यूरीमा २० प्रतिशत भन्दा कम रहेको छ। जुन विश्वका विकसित भनिएका मुलुकसँग तुलना गर्दाे पनि निकै सन्तोषजनक नतिजा भएको डा शर्मा बताउँछन्।
न्यूरोलोजी विभागका प्रमुख डा बाबुराम पोखरेलका अनुसार विश्वभर ब्रेन स्ट्रोकको संख्या बढ्दै जान थालेको छ। अध्ययन अनुसार विश्वमा करिब १ करोड ५० लाख मानिसको ब्रेन स्ट्रोकका कारण मृत्यु हुने गरेको तथा ५० लाख मानिसहरुमा अपांगताको समस्या आउने गरेको पाइएको छ। स्ट्रोक भएकामध्ये करिब ५० लाख मानिसले मात्रै गुणस्तरीय स्वास्थ्य सेवा पाउने गरेको तथ्यांक छ।
अस्पतालले कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर समेत सञ्चालनमा ल्याउन लागेको कार्यक्रममा जानकारी दिइएको छ।