काठमाडौं- अन्तर मेडिकल कलेज फुटसल प्रतियोगिताको उपाधि नेपाल मेडिकल कलेजले हात पारेको छ। नेपाल चिकित्सक संघ र संघको जुनियर डक्टर्स किमिटीले शनिबार आयोजना गरेको प्रतियोगितामा नेपाल मेडिकल कलेजको टोलीले जित हासिल गरेको हो।
प्रतियोगितामा काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसजको टोलीले दोस्रो स्थान हात पारेको छ।प्रतियोगितामा विभिन्न मेडिकल कलेजका १८ वटा टोलीको सहभागिता रहेको जुनियर डक्टर्स किमिटीका सदस्य सचिव विकास सिटौलाले जानकारी दिए।
फुटसल प्रतियोगितामा प्रथम स्थान हासिल गरेको टोलीलाई १० हजार रुपैयाँसहितको ट्रफी प्रदान गरिएको छ भने दोस्रो स्थान हासिल गरेको टोलीलाई पाँचहजार प्रदान गरिएको छ।
यसैगरी, प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसजका क्षितिज श्रेष्ठ र उत्कृष्ट खेलाडी सुवर्ण बुढामगरलाई पनि सम्मान गरिएको थियो।
विजेता टोली र दोस्रो स्थान हासिल गरेको टोलीसहित उत्कृष्ट र बढी गोल गर्ने खेलाडीलाई चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्की, महासचिव डा सञ्जिब तिवारी, कोषाध्यक्ष डा प्रमोद जोशी र सहकोषाध्यक्ष डा विक्रान्त ढकालले पुरस्कार र ट्रफी प्रदान गरेका थिए।
फुटसल प्रतियोगिताका क्रममा सहभागि चिकित्सकलाई खेलकुदमा प्रतिबन्धित पदार्थको सेवनले हुने असर र क्षतिका विषयमा जानकारी दिन एन्टीडोपिङको सेसन पनि गरिएको जुनियर डक्टर्स किमिटीका सदस्य सचिव विकास सिटौलाले बताए।
यसैबीच, प्रतियोगिताका अवसरमा नेपाल चिकित्सक संघ र स्वास्थ्य पत्रकारहरुबीच मैत्रिपूर्ण फुटसल भएको थियो। प्रतिस्पर्धामा चिकित्सक संघले जित हासिल गरेको छ। प्रतिस्पर्धामा संघले ४ गोल गरेको थियो भने पत्रकार टोलीले १ गोल गरेका थिए।