भक्तपुर- भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरलाई रोटरी क्लव अफ ईचोन न्यमचियोन, कोरिया तथा रोटरी क्लव अफ बागमती-काठमाडौंले मेमोग्राम मेशिन हस्तान्तरण गरेको छ। मेमोग्राम मेशिन स्तन क्यान्सर परीक्षण गर्न प्रयोग गरिन्छ।
रोटरी क्लव अफ ईचोनका पूर्व अध्यक्ष डा याङ जिओङ बुनको नेतृत्वसहितको टोलीले शनिबार काठमाडौं क्यान्सर सेन्टरमा आयोजित एक कार्यक्रममा मेमोग्रम मेसिन हस्तान्तरण गरेको हो। कोरियन तथा नेपालको रोटरी क्लबले ग्लोबल ग्राण्ड मार्फत मेमोग्राम मेसिन हस्तान्तरण भएको हो।
डा याङ जिओङ बुनले यसको प्रयोगले महिलाहरुको स्तन क्यान्सरको संभावनाको जाँच गरी क्यान्सरको जोखिमबाट बच्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
मेसिन हस्तान्तरण कार्यक्रममा काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा सिमित सापकोटाले रोटरी क्लव अफ ईचोन न्यमचियोन, कोरिया तथा रोटरी क्लव अफ बागमती-काठमाडौं समाजसेवी तथा दाताहरुलाई आभार व्यक्त गर्दै सेवा निरन्तरताको प्रतिवद्धता व्यक्त गरे।
सेन्टरका क्यान्सर रोग विशेषज्ञ डा सुवास पण्डितले रोटरी टिमलाई अस्पतालको सेवाको बारेमा जानकारी दिएका थिए।
कार्यक्रममा रोटरी क्लव अफ बागमती-काठमाडौमा यादव खरेल र राजेश मणी घिमिरे लगायतको उपस्थिति थियो।