काठमाडौं- भाष्कर तेजश्री स्मृति प्रतिष्ठान र काठमाडौं महानगरपालिकाको वडा १० मा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा विश्व स्वास्थ्य दिवस मनाइएको छ। सन् १९४८ अप्रिल ७ मा विश्व स्वास्थ्य संगठनको स्थापना भएसँगै विश्वका विभिन्न मुलुकहरुले विश्व स्वास्थ्य दिवस मनाउँदै आएका छन्।
नेपालले विश्व स्वास्थ्य संगठनको सदस्यता लिएको ७१ वर्षको अवधि उक्त संस्थाबाट स्वास्थ्य क्षेत्रमा प्रगती हासिल गर्नका लागि विभिन्न सहयोग लिँदै आएको भाष्कर तेजश्री स्मृति प्रतिष्ठानकी कार्यकारी निर्देशक प्रा डा रिता थापाले बताइन्। विश्व स्वास्थ्य संगठनले नेपालमा बढ्दै गइरहेको नसर्ने रोगलाई न्यूनीकरण गर्नका लागि उल्लेखनीय सहयोग गरेको उनको धारणा थियो।
उनले यसवर्षको विश्व स्वास्थ्य दिवसको नारा मेरो स्वास्थ्य मेरो अधिकार भन्ने नारा रहेको स्मरण गराउँदै आफ्नो स्वास्थ्य कस्तो बनाउने भन्ने व्यक्तिमा निहीत रहेको बताइन् ।
विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा राजेश साम्भाजीराव पाण्डवले जुनसुकै सम्प्रदायका मानिसहरुमा स्वास्थ्य सम्बन्धी हक निहित रहेको बताए।
विश्वका अधिकांश देशहरुले संविधानमा नै स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरेपनि यो हक पाउनबाट अधिकांश मानिसहरु वञ्चित रहेको उनको धारणा थियो। नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि विश्व स्वास्थ्य संगठनले सहयोग गर्न पाउनु गर्वको विषय भएको उनको धारणा थियो।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा १० का अध्यक्ष रामकुमार केसीले विश्व स्वास्थ्य दिवस मनाउनका लागि उत्प्रेरित गरेकोमा भाष्कर तेजश्री स्मृति प्रतिष्ठान तथा प्राडा रिता थापा धन्यवादको पात्र भएको बताए। उनले वडा १० विश्व स्वास्थ्य दिवस मनाउने महानगरकै पहिलो वडा भएको समेत दाबी गरे।
औपचारिक कार्यक्रमको समापनपछि स्वास्थ्य सचेतना सम्बन्धी र्याली समेत गरिएको थियो।