काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा रहेको पोइजन इन्फरमेसन सेन्टरले स्थापना भएको ४ महिनामा १ सय २० बिरामीलाई सेवा दिएको छ ।
नेपालमा विष सेवन गरी आत्महत्या गर्न सक्ने मानिसहरु विष सेवन उपचारका अस्पताल पुगेपश्चात् स्वास्थ्यकर्मीहरुले औषधि उपचारका क्रममा अलमलको स्थिती सृजना भएमा त्रिवि शिक्षण अस्पतालमा रहेको विष मापन केन्द्र अर्थात् पोइजन इन्फरमेसन सेन्टरमा सम्पर्क गर्न सक्छन्।
गत डिसेम्बरको १३ मा तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले उद्घाटन गरेपश्चात् उक्त केन्द्रले औपचारिक रुपमा नै सेवा दिन थालेको हो । नेपालमा आत्महत्याको दर बढ्दो रहेको अवस्थामा सेन्टरको महत्व बढेको छ।
नेपालमा बर्षेनी ६ हजार ९ सय ३३ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक रहेकोमा २० प्रतिशतको मृत्यु विष सेवनका कारण हुने गरेको विष सुचना केन्द्रका परियोजना प्रमुख डा राकेश घिमिरेले बताए।
बिष सेवनपछिको उपचारमा आवश्यक परामर्श २४ सै घण्टा उपलब्ध हुने गरी सेन्टरको व्यवस्थापन गरिएको बताए। जानकारी लिनको लागि केन्द्रको ०१ ४५०२०११ फोन नम्बरमा सम्पर्क गर्न सकिने उनी बताउँछन्। सेन्टरले स्वास्थ्यकर्मीलाई मात्रै बिरामीको बारेमा जानकारी दिन्छ।