काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न नसकेको बताएका छन्।
स्वास्थ्य र शिक्षालाई संविधानमा मौलिक हकको रुपमा व्यवस्था गरे पनि सरकारले सो अनुसार काम गर्न नसकेको सांसद ढुंगानाको आरोप थियो। शुक्रबार राष्ट्रिय सभा बैठकमा पेस गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिता सम्बन्धि’ संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले गरिब जनतासँग स्वास्थ्य बीमा गर्ने अवस्था नभएकाले त्यसतर्फ पनि सरकारले सोच्नुपर्ने आवश्यकता औंल्याए।
सांसद ढुंगानाले सरकारी अस्पतालमा स्रोत, साधन र जनशक्तिको अभावका कारण कामै गर्न नसक्ने अवस्थामा पुग्दा पनि सरकार गम्भिर नभएको जिकिर पनि गरे।
सांसद ढुंगानाले सबै पालिकामा सरकारी अस्पताल बनाउने कुरा घोषणा गरे पनि बजेट नभएका कारण अघि बढन नसकेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए।