बागलुङ– प्रसिद्व बागलुङ कालिका मन्दिर परिसरमा सञ्चालन भइरहेको परम्परागत चैत्राष्टमी मेलालाई लक्षित गरि नेपाली सेनाले स्वास्थ्य सेवा केन्द्र स्थापना गरेको छ।
मेलामा आउने दर्शक तथा बागलुङ कालीका मन्दिरमा दर्शनको लागि पुग्ने दर्शनार्थीलाई लक्षित गरि स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याईएको श्रीमेहर गण बागलुङका गणपति प्रमुख सेनानी धन राना मगरले जानकारी दिए।
श्री श्रीमेहर गण र श्री नं २३ फिल्ड गुल्मको सकृयतामा चैत्राष्टमी मेला अवधिभर दर्शक तथा अतिथिहरुको स्वास्थ्यमा समस्या आएमा सामन्य देखि आकस्मिक स्वास्थ्य सेवा प्रदान गरिने प्रमुख सेनानी रानाले बताए।
नेपाली सेना अन्तर्गत जिल्लामा तैनाथ श्री नं. २३ बाहिनी अड्डाको संयोजनमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको हो। सो अवधिमा जटिल समस्या भएका दर्शनार्थी तथा दर्शकलाई तत्काल उपचारको लागि अस्पताल लैजान सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ।
कालिका भगवती गुठी व्यवस्थापन समितीको आयोजनामा वैशाख ६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक चैत्राष्टमी मेलामामा नेपाली सेनाले स्वास्थ्य सेवा केन्द्र मार्फत सेवा प्रदान गर्ने छ ।
नेपाली सेनाको यो परोपकारी कार्यले ऐतिहासिक चैत्राष्टमी मेलालाई सफल र व्यवस्थित बनाउन सहयोग पुग्ने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए। नेपाली सेनाले नागरिकलाई लक्षित गरि विभिन्न समयमा परोपकारी कामहरुलाई निरन्तरता दिँदै आएको छ।