काठमाडौं- विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि नेपाली सेनाको टोली सोलुखुम्बुको नाम्चेबाट अघि बढेको छ।
सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि सैनिकसहितको सफा हिमाल अभियान– २०२४ को टोली आज नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेको हो।
१२ जना नेपाली सेना र एकजना शेर्पा सरदारसहित १३ जनाको टोलीमध्ये दुईजना भने आपतकालीन जनशक्तिका लागि नाम्चेमै रहने रणसुर गुल्म नाम्चेका प्रमुख सेनानी प्रचण्डविक्रम भारतीले जानकारी दिए।
‘दुईजना आपतकालीन उद्धार तथा समस्याका लागि नाम्चे ब्यारेकमै तयारी अवस्थामा छन्, बाँकी ११ जनालाई नाम्चे ब्यारेकले आज एक कार्यक्रमबीच बिदाइ गर्यौँ, यो टोली सगरमाथा आधार शिविरतर्फ अघि बढेको हो,’ उनले भने। यही वैशाख २ गते सेनाको हेलिकोप्टरमार्फत स्याङ्बोचे ओर्लिएको उक्त टोली दुई दिन नाम्चेको बसाइपछि आज त्यहाँबाट प्रस्थान गरेको हो।
सेनानी आदित्य कार्कीको नेतृत्वमा रहेको उक्त टोलीले अभियानलाई प्रभावकारी बनाउन स्थानीय जनसमुदायहरूसँग अन्तरसंवाद गर्दै करिब सात दिनको पदयात्रापश्चात् सगरमाथा आधार शिविर पुग्ने सेनानी भारतीले बताए। पदयात्राको क्रममा सचेतना अभिवृद्धि तथा अभियानको प्रचारप्रसारका लागि पदमार्गको सरसफाइसमेत गरिनेछ।